कर्मचारी वृत्तमा निकै परिचित र दोस्रो संविधानसभाको निर्वाचन गराउन सफल हुनुको मुख्य श्रेय पाएकै कारण धेरैको प्रिय बनेका पूर्वगृहमन्त्री, पूर्वमुख्यसचिव माधवप्रसाद घिमिरे आफ्ना दुई भाइसहित आइतबार साँझदेखि त्रिशूली नदीमा बेपत्ता छन्।
आइतबार साँझ अबेर उनी चढेको गाडी त्रिशूली नदीमा खसेर उनीहरु वेपत्ता भएदेखि नै कुरिनटारको घोप्टेभिरमा उनीहरुको अवस्था बुझ्न आउनेको भीडभाड छ। सोमबार बिहान सबेरैदेखि घिमिरेका इष्टमित्र, आफन्त हुँदै नेपाल सरकारका उच्च पदस्थ कर्मचारी समेत घटनास्थल आइपुगेका थिए।
चितवन र छिमेकी जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका जिल्लास्थित प्रमुख पनि घोप्टेभिर पुगेर उनको खोजीका लागि सहयोग गरिरहेका छन्।
सोमबार बिहान घटनास्थल घोप्टेभिरमा बिलौना गरिरहेकी दीपा आचार्य घिमिरेसँगै मुक्तिनाथ यात्राको एक जना सहयात्री छन्। दीपाका बुबाका मामाको छोरा (ठूलोबुबा) घिमिरे परिवारसँगै आचार्य पनि असोज ५ गते काठमाडौँबाट मुक्तिनाथ यात्रामा गएका थिए।
आचार्यले भनिन्, ‘बिहान ७ बजे हामी काठमाडौँबाट हिँडेका थियौँ। गाडीमा माधवप्रसाद घिमिरे, उहाँका आफ्नै भाइ प्रकाश, काकाको छोरा मोहन, नाताले काका पर्ने नारायणप्रसाद काफ्ले र चालकसहित दुई सुरक्षाकर्मी टोलीमा थिए।’ असोज ५ गते राति बेनीमा बास बसी यात्रा तय गरेको बताउँदै आचार्यले भनिन्, ‘असोज ६ गते जोमसोममा बसियो। असोज ७ गते त्यहीँबाट कागबेनीमा गएर श्राद्ध गरी साँझ फेरि जोमसोममा नै बसियो। असोज ८ गते बिहान जोमसोमबाट हिँडियो, म बेनीमा झरेँ, उहाँहरु बागलुङकालिका दर्शन गरी पोखरा गएर बस्नुभयो। असोज ७ गते घिमिरेले र असोज ८ गते काफ्लेले श्राद्ध गर्नुभएको थियो।’ आचार्यका पिता यादव आचार्य म्याग्दी जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारी हुनुहुन्छ।
असोज ९ गते बिहान निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सन कास्कीका अध्यक्ष चिनु रानाभाटसँगै बिहानको खाना खाएर उनीहरु हिँडेका थिए।
घटनास्थलमा आइपुगेका रानाभाटले भने, ‘हामीसँगै लेकसाइडको मोनालिसा रेस्टुराँमा खाना खाएर बिहान ११:१५ बजे उहाँहरु पोखराबाट हिँड्नु भएको हो।’ उनीहरुले दिउँसो विमलनगरमा चियाखाजा खाएको समेत रानाभाटले बताए। दिउँसो २:३० बजे फोन गर्दा उनीहरु विमलनगर भएको बताउँदै रानाभाटले यो घटना सुन्दा आफूलाई सपना जस्तो लागेको बताए।
यादव आचार्य मुक्तिनाथ यात्रा क्रममा उनीहरुसँगै थिए। आचार्य माधव घिमिरेका फूपूका छोरा भाइ हुन्। ‘साँझ ५ बजे मैले दाइलाई फोन गरेँ, धेरैबेरपछि सुरक्षाकर्मीले फोन उठाए, हामी आत्तिएर आइपुग्यौँ। अहिले पनि घटना सपना जस्तै लाग्छ,’ उनले भने। उनका अनुसार माधव घिमिरे र भाइ प्रकाश वनस्थलीमा बस्थे। अन्दाजी ४८ वर्षीय प्रकाश खेलकुद परिषद्का कर्मचारी थिए।
त्यस्तै, काकाका छोरा अन्दाजी ५० वर्षीय मोहन पनि वनस्थलीमै बस्छन्। उनी नेपाल टेलिकमका कर्मचारी भएको आचार्यले बताए। अन्दाजी ६५ वर्षीय नारायण काफ्ले राष्ट्रिय वाणिज्य बैंकका निवृत्त कर्मचारी हुन्। उनको बसाइ कात्यायनी, बानेश्वरमा थियो। प्रहरी नायब निरीक्षक रामचन्द्र कार्की सिन्धुलीका हुन्।
आचार्यका अनुसार पूर्वगृहमन्त्री एवम् मुख्यसचिव घिमिरेकी श्रीमती कमला र बुहारी आकांक्षा काठमाडौँकै घरमा छन् भने छोरा सुशान्त अस्ट्रेलियाबाट आउँदै छन्। छोरी सृष्टि पाल्पा मेडिकल कलेजमा चौथो वर्षमा अध्ययनरत छिन्।
घटनास्थलमै भेटिएका घिमिरेका काकाका छोरा धनेन्द्र घिमिरेले घटनास्थल निरीक्षण गर्न आएका मन्त्री रमेश लेखकसँग यही ढङ्गबाट खोजी गर्दा पत्ता लाग्न नसक्ने भन्दै थप स्रोत र साधनको प्रयोग गर्न आग्रह गरे।
पानीभित्र पसेर बेपत्ताको खोजी गर्नसक्ने अत्याधुनिक उपकरण हुनसके उनीहरुलाई पत्ता लगाउन सकिने घिमिरेले बताएका थिए। सो क्रममा मन्त्री लेखकले यस विषयमा प्रधानमन्त्रीसँग तत्काल टेलिफोन सम्पर्क गरी खोजी कार्यलाई थप प्रभावकारी बनाउने आश्वासन दिएका थिए। त्यसलगत्तै उनले प्रधानमन्त्रीलाई फोन समेत गरेका थिए।
घटनास्थलमा उनको गृहजिल्ला पाल्पासहित देशभर छरिएर रहेका आफन्त कुरिनटार आइपुगेका छन् भने उनकै समयदेखि सरकारी सेवामा रहेका पनि आउनेक्रम जारी छ। घटनास्थलमा उहाँको झोला र मोबाइल फेला परेको छ। घिमिरे तीनभाइ नदीमा बेपत्ता छन् भने आमा, काका काफ्ले, सशस्त्र प्रहरीका नायब निरीक्षक कार्कीको मृत्यु भएको छ। चालक नेपाल प्रहरीको हवल्दार विष्णु राई घाइते छन्। रासस