प्रधानमन्त्री पुष्पकमल दाहालले जनताको आकांक्षा बुझेर, जनतालाई केन्द्रमा राखेर सेवा प्रवाह गर्न निर्देशन दिएका छन्।
बुधबार चितवनका सरकारी कार्यालयका प्रमूखहरुलाई सामूहिक निर्देशन दिँदै प्रधानमन्त्रीले जनताको आकांक्षाअनुसार काम गर्न निर्देशन दिँदै भने, ‘जनताको कर्मचारी प्रशाासनलाई हेर्ने नजर अहिले पनि राम्रो बन्न सकेको छैन । जनताले हाम्रै कर्मचारी हुन्न भन्ने अनुभूति हुने गरी काम गर्नुस् । जनतालाई केन्द्रमा राखेर काम गर्नुस् ।’
निर्देशनमा प्रधानमन्त्रीले भने, ‘धेरै कुरा गर्नुभन्दा पनि परिणाममूखी काम गरौं । राजनीतिक घोषणाको तहमा धेरै माथि आएका छौं । संघीय लोकतान्त्रिक गणतन्त्र सामान्य कुरा होइन । तर, जनताको जीवनमा परिवर्तन ल्याउन हामीले धेरै मेहेनत गर्नुपर्ने छ ।’
प्रधानमन्त्रीले राजनीतिक तिब्रता र प्रशासन संयन्त्रको काम गर्ने तरिकामा अन्तरविरोध रहेको भन्दै यसले कतिपय जटिलता ल्याएको बताए। उनले राजनीति र प्रशासन एक अर्काका परिपुरक बनेर जानुपर्ने तर, कमाण्ड राजनीतिको हुनुपर्ने बताए।‘ राजनीति तिब्रतामा हुन्छ । तर, प्रशासनको आफ्नै ट्रेन हुन्छ । राजनीतिको रफ्तारलाई बुझ्ने गरी प्रशासनिक कामलाई बदल्न जरुरी छ,’ दाहालले भने।
सरकार दण्ड र पुरस्कारको व्यवस्था सहित प्रशासन सुधारमा लागेको जानकारी दिँदै प्रधानमन्त्रीले भने, ‘राम्रो काम गर्नेलाई पुरस्कृत र नराम्रो गर्नेलाई दण्डित गर्ने प्रणालीको विकास गर्नेतिर सोच्नुपर्छ । मैले यसबारे संसदमा पनि बोलेको छु । राम्रो गर्नेलाई सम्मान, पुरस्कृत र समाजमा स्थापित गर्ने र नराम्रो गर्नेलाई दण्डित गरेर जानुपर्छ । हाम्रो प्रतिस्पर्धा नराम्रोको लागि हुने संस्कार छ । यसलाई बदल्नुपर्छ । समयभन्दा अगाडि नै राम्रोभन्दा राम्रो काम गर्नेतिर सोच्नैपर्छ ।’