स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समिति पाल्पाले नौवटा स्थानीय तहको प्रस्ताव गरेको छ।
राजनीतिक दल, सांसद, पूर्व जनप्रतिनिधि र प्राविधिक सहयोग समितिको सहमतिमा तीन नगरपालिका र छ गाउँपालिका सिफारिस गरिएको हो। जनमोर्चाले भने असहमति जनाउँदै १४ स्थानीय तह निर्माण गर्नुपर्ने माग राखेको छ। सहमति भएका नौवटा स्थानीय तहको केन्द्र र नाम भने जनतासँगको छलफलबाट टुङ्ग्याउने दलहरुबीच सहमति भएको छ।
स्थानीय तह १ मा पूर्वी पाल्पाका सातवटा गाविस समावेश गरिएको छ जसमा बाकामलाङ, सहलकोट, झिरुवास, मित्याल, गल्धा, अर्चले र ज्यामिरे गाविस छन्।
स्थानीय तह २ मा रामपुर नगरपालिका कायम गरिएको छ। स्थानीय तह ३ मा ११ वटा गाविस समावेश गरी नगरपालिका सिफारिस गरिएको छ जसमा सिलुवा, रिङ्नेरह, जल्पा, वीरकोट, हेक्लाङ, हुँगी, फोक्सिङकोट, पीपलडाँडा, हुमिन, ताहुँ र देवीनगर गाविसलाई समावेश छन्।
स्थानीय तह ४ मा सातवटा गाविस समावेश गरिएका छन् जसमा चिदीपानी, रुप्से, कसेनी, झडेवा, गोठादी, रहवास र बहादुरपुर गाविस छन्।
स्थानीय तह ५ मा चारवटा गाविस समावेश गरिएका छन् जसमा कचल, दोभान, मस्याम र कोल्डाँडा गाविस समावेश छन्। स्थानीय तह ६ मा नौ वटा गाविस परेका छन्। यस गाउँपालिकामा खानीगाउँ, यम्घा, दर्लमडाँडा, खानीछाप, नायरनम्तलेस, पोखराथोक, चिर्तुङधारा, चापपानी र बराङ्दी गाविस रहेका छन्। स्थानीय तह ७ मा तानसेन नगरपालिकासहित पाँचवटा गाविस समावेश गरिएका छन् जसमा तानसेन नगरपालिका, मदनपोखरा, तेल्घा, बन्दीपोखरा, बौघापोखराथोक, बौघागुम्वा गाविस छन्।
स्थानीय तह ८ मा नौवटा गाविस समावेश गरिएका छन् जसमा अर्गली, ख्याहा, देउराली, खस्यौली, भैरवस्थान, कुसुमखोला, ठिमुरे, पालुङमैनादी र फेक गाविस छन्। स्थानीय तह ९ मा ८ वटा गाविस समावेश रहेका छन् जसमा सिद्धेश्वर, सोमादी, भुवनपोखरी, छहरा, मुझुङ, जुठापौवा, बल्ढेङ्गढी र सत्यवती गाविस छन्।
जिल्ला तहमा भएको सहमतिलाई नौवटै तहमा छलफलका लागि लैजाने र छलफलबाट आएका सुझाव समावेश गरी असोज १५ गतेभित्र स्थानीय निकाय पुनःसंरचना आयोगलाई पठाउने प्राविधिक समितिका सदस्य सचिव योजना तथा प्रशासकीय अधिकृत चूडामणि बस्यालले बताए। सहमतिका आधारमा सिफारिस गरिएका नौवटै स्थानीय तहमा गाविसहरु नटुक्राई सीमाङ्कन गरिएको उनले बताए। रासस