प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको हितका लागि वर्तमान सरकार तीन वटा निर्वाचन २०७४ साल माघ ७ गतेभित्रै सम्पन्न गराउन लागिपरेको बताएका छन्।
प्रेस सेन्टर नेपालको प्रथम राष्ट्रिय महाधिवेशनको बन्द सत्रलाई यहाँ शुक्रबार सम्बोधन गर्दै उनले संविधान कार्यान्वयनका लागि निर्वाचन अपरिहार्य शर्त भएको र उक्त शर्त पूरा गर्न सरकार सबै साधन र स्रोत परिचालन गरेर लागिपरेको बताए।
‘स्थानीय निकायको निर्वाचन, प्रान्तीय निर्वाचन र केन्द्रीय निर्वाचन गराउनु सरकारको प्रमुख दायित्व हो। ती निर्वाचन सम्पन्न भएपछि संविधानको पूर्ण कार्यान्वयन हुन्छ, त्यसका लागि सबै दलको पूर्ण सहमति र सहकार्य आवश्यक छ। सबै दलको सहमतिमा निर्वाचन सम्पन्न हुन्छ,’ उनले भने।
संविधानसभाको पहिलो निर्वाचनको प्रसङ्ग जोड्दै प्रधानमन्त्रीले भने, ‘सो निर्वाचन गराउने स्व गिरिजाप्रसाद कोइराला हुनुहुन्थ्यो तर उहाँले मुलुकका लागि निर्वाचन गराउनुभयो, मुलुकलाई जिताउनुभयो। अहिले पनि हामी सरकारमा छौँ, जनताका पक्षमा काम गरेनौं र प्रक्रिया मिलाएनौं भने हामी हार्न पनि सक्छौँ तर मुलुकले जित्नुपर्छ, नेपाली जनता विजयी हुनुपर्छ।’
सरकार लामो समयदेखि रोकिँदै आएका विकास निर्माणका कामलाई बढावा दिन लागिपरेको उल्लेख गर्दै उनले भूकम्पपछिको पुनःनिर्माण सँगसँगै आर्थिक विकास र समृद्धिका लागि प्रतिबद्ध रहेको र सोही दिशामा क्रियाशील रहेको बताए।
प्रधानमन्त्री दाहालले राष्ट्रिय आवश्यकताका आधारमा संविधानलाई सर्वस्वीकार्य बनाउन र सबैलाई अपनत्व दिन लागिपरेको र सो दिशामा केही दिनमा नै सफलता हात लाग्ने स्पष्ट पारे।
मुलुकको राष्ट्रिय हित र चाहनामा कोहीकसैसँग सम्झौता नभएको र नगरिने स्पष्ट पार्दै प्रधानमन्त्रीले भने, ‘केही राजनीतिक दलले आफूमात्रै राष्ट्रवादी र अरुचाहिँ अराष्ट्रवादी हुने प्रवृत्ति गलत छ। हामी मुलुकलाई समृद्धिसहितको राष्ट्रवादको पक्षमा छौं।’
प्रधानमन्त्री दाहालले नेपालको पत्रकारिता र सञ्चार क्षेत्रको विकासका लागि सरकारको तर्फबाट सबै प्रकारको सहयोग उपलब्ध गराइने र त्यसका लागि पहल एवम् खबरदारी गर्न पत्रकारलाई आग्रह गरे। कार्यक्रममा नेकपा(माओवादी केन्द्र)का नेता वर्षमान पुनले मुलुकलाई सही दिशा दिन सक्ने र नेतृत्व गर्नसक्ने पार्टी माओवादी नै भएकाले यसभित्र रहेका कमी कमजोरीलाई स्वीकार गरेर जानुपर्नेमा जोड दिए। रासस