सोसल साइन्स बहाःले समाज कल्याण परिषदमार्फत गत असार २२ र २३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई उपलब्ध गराएका कागजातमा तथ्य तोडमोड गरी खर्च शीर्षक र रकमसमेतमा गलत अर्थ लगाउन मिल्नेगरी बंग्याएको बताएको छ।
शुक्रबार विज्ञप्ति जारी बहाःले यस्तो जनाएको हो। सोसल साइन्स बहाः अन्तर्गत सञ्चालित एलायन्स फर सोसल डायलग नामक कार्यक्रमलाई आयोगले छुट्टै संस्थाका रुपमा त्रिचण गरेको बताएको छ, त्यो गलत रहेको भनाइ सार्वजनिक गरेको छ। एलायन्स फर सोसल डायलग नाम कार्यक्रम गर्न सोसल साइन्स बहाःले प्रचलित कानुन अनुरुप समाज कल्याण परिषदबाट स्वीकृति लिएको बताइएको छ।
यस्तो अवस्थामा निराधार आरोप लगाई विषयवस्तुभित्र गैरकानुनी ढंगले प्रवेश गरेर आयोगले विज्ञप्ति निकाल्नु नेपालको संवैधानिक तथा प्रचलित नीति नियमको बर्खिलाप तथा पूर्वाग्रह र दुराशययुक्त रहेको बहाःले जनाएको छ। उसले यो अख्तियारको क्षेत्राधिकारभन्दा बाहिरको काम भएको पनि जिकीर गरेको छ।
‘हामी राज्यका जुनसुकै निकायबाट कानुन बमोजिम हुने परीक्षमा दृढताका साथ उत्रिन र हाम्राबारे गरिने अनुसन्धानमा सहयोग गर्न तयार छौं, संविधानबमोजिम स्थापित गरिमामय निकायहरुले समेत संविधान र कानुनको दायराभित्र रहेर बिनापूर्वाग्रह आफ्ना कामकारबाही गरुन्,’ विज्ञप्तिमा भनिएको छ।

