चीन र भारतकालागि प्रस्तावित राजदूतको नाम संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेको छ। आइतबार सिंहदरबारमा बसेको समितिको बैठकले चीनका लागि राजदूत सिफारिस भएको लिलामणि पौडेलको नाम सर्वसम्मत रुपमा अनुमोदन गरेको हो।
उपाध्यायको नाम एमाले र राप्रपा नेपालका सांसदको असहमतिका बीच पारित भएको हो। उपाध्यायलाई अघिल्लो सरकारले राजदुतबाट फिर्ता बोलाएकोमा फेरि सरकारले सिफारिस गर्नु गलत भएको भन्दै समितिमा रहेका एमालेका पाँच र राप्रपा नेपालका एकजना सांसदले अनुमोदन गर्न नहुने अडान लिएका थिए। भारतका लागि सिफारिस भएका राजदूत दीपकुमार उपाध्यायको नाममा भने प्रमुख प्रतिपक्ष दल एमाले र राप्रपा नेपालले असहमति जनाएका थिए।
कुनै पनि राजदूतको नाम अस्वीकार गर्न दुई तिहाइ मत चाहिने भएपछि उपाध्यायको नाम अनुमोदन भएको हो।
समितिबाट सिफारिस अनुमोदन भएसँगै उपाध्यायलाई दोस्रोपटक भारतको राजदूत नियुक्त हुने बाटो खुलेको छ । एमाले नेतृत्वको अघिल्लो सरकारले राजदूतको पदीय मर्यादा विपरित सरकार ढाल्ने षड्यन्त्रमा लागेको आरोपमा उपाध्यायलाई कार्यकालको बीचमै फिर्ता बोलाएको थियो । समितिले नाम अनुमोदन गरेपछि राष्ट्रपतिले राजदुत नियुक्त गर्ने प्रावधान छ।