अमेरिकाको पहिलो अश्वेत राष्ट्रपति बनेपछि बाराक ओबामाको विषयमा थुप्रै घटनाहरू सुनिने गरेको छ। यस्तैमा एउटा रमाइलो घटना गत शुक्रबार इजरायलमा भएको छ।
नोबल शान्ति पुरस्कारबाट सम्मानित इजरायली नेता सिमोन पेरेसको अन्त्येष्टिमा सहभागी हुन अमेरिकी राष्ट्रपति ओबामासँगै डेमोक्रयाटिक पार्टीका पूर्वराष्ट्रपति बिल क्लिन्टन पनि पुगेका थिए।
यी दुवै अमेरिकाको सबैभन्दा सुरक्षित मानिने ‘एयरफोर्स–वान’ चढेर इजरायल उत्रिएका थिए। तर, अन्त्येष्टिको कार्यक्रम सकेर इजरायली मित्रहरूसँग बिदाई माग्दै अमेरिका फर्किने क्रममा क्लिन्टन केही ढिलो गर्दै प्लेन भएको ठाउँमा पुगे। जहाँ पहिले नै चढिसकेका अमेरिकी राष्ट्रपति ओबामाले बारम्बार क्लिन्टनलाई भनिरहेका थिए, ‘बिल, चाँडै लागौं!’
ओबामाले क्लिन्टनलाई बोलाइरहेको फुटेज क्यामरामा पनि कैद भएको थियो। जसमा ओबामा ब्यग्रताका साथ प्लेनको ढोकामा प्रतिक्षारत देखिन्थे। उनी ताली पड्काएर क्लिन्टनलाई बोलाइरहेका थिए।
‘बिल, छिटो आऊ,’ ओबामा कराइरहेका थिए, हात हल्लाउँदै उनी क्लिन्टनलाई बोलाइरहेका थिए,‘बिल छिटो गर। घर फर्किनु पर्छ!’
कुरा गर्न रुचाउँने पूर्व राष्ट्रपति क्लिन्टनले प्लेनमा आउन ढिलो गरेपछि राष्ट्र प्रमुख ओबामा उद्धेलित बनेका थिए। केही समयको पर्खाइपछि क्लिन्टन प्लेनको सिडीमा चढे र दुवै हात मिलाँदै प्लेन भित्र छिरेका थिए।