भारतको दक्षिणका दुइ राज्य कर्नाटक र तमिलनाडुको बढ्दो पानीको विवादलाई लिएर पूर्व प्रधानमन्त्री एच डी देवगौडा अनशनमा बसेका छन्। पूर्व प्रधानमन्त्री देवगौडा शनिवार बिहान कर्नाटकाको विधान सभामा रहेको राष्ट्रपिता महात्मा गान्धीको प्रतिमामा माल्यार्पण गरेपछि अचानक धर्नामा बसेको भारतीय संचारमाध्यमले बताएको छ।
देवगौडा काभेरी जल विवादमा उच्च न्यायालय र केन्द्रीय सरकार दुवैले राज्यप्रति न्याय गर्न नसकेको भन्दै अनशनमा बसेका हुन्। पूर्व प्रधानमन्त्री देवगौडा उच्च न्यायलयले ४ अक्टुबरसम्म काभेरी प्रबन्धन बोर्ड गठन र कर्नाटकाले प्रतिदिन ६ हजार क्युसेक पानी तमिलनाडुलाई छोड्न दिएको निर्णयपछि धर्नामा बसेका हुन्। कर्नाटकाले खराब मनसुनका कारण जलको स्तरमा आएको गिरावटसँगै अदालतले भनेको पानी आफूले छोड्न नसक्ने बताउदै आइरहेको छ।
कर्नाटकाका मुख्यमन्त्री सिद्धारमैयाले देवगौडालाई अनशन तोड्न अपील गरेका छन्।