सरकारले खाद्य पदार्थमा मिसावट गरी उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गर्ने व्यापारीहरुलाई जेल हाल्ने व्यवस्थासहित कानून संशोधन गर्ने भएको छ।
हालको कानूनमा निकै कम जरिवानाको व्यवस्था रहेका कारण व्यापारीहरुले त्यसलाई कमजोरीका रुपमा लिइ मिसावट गरेर तथा गुणस्तरहीन खाद्य वस्तु बेचेको भन्दै त्यस्ता व्यापारीलाई जेल हाल्ने व्यवस्थासहित कानूनमा संशोधन गर्ने भएको हो । आपूर्तिमन्त्री दीपक बोहोराले मन्त्रालयले कानूनमा संशोधनको प्रक्रिया अगाडि बढाइसकेको बताए।
रिपोर्टस क्लबले सोमबार काठमाडौंमा गरेको साक्षात्कारमा मन्त्री बोहोराले हालको जरिवानाको व्यवस्थाले करोडौं रुपैयाँको कारोबार गर्ने व्यापारिक फर्महरुलाई कुनै प्रभाव परेको नदेखिएका कारण मन्त्रालयले जरिवानाको रकम समेत बढाइ कानून संशोधनको काम अगाडि बढाएको बताए।
आपूर्तिमन्त्री दीपक बोहोराले बजार अनुगमनका क्रममा कैफियत फेला परेका सबै व्यापारिक फर्म र व्यापारीमाथि कारवाहीको प्रक्रिया अगाडि बढाइएको दाबी पनि गर्नुभयो । आपूर्ति मन्त्रालयले साउनको अन्तिम साताबाट बजार अनुगमन सुरु गरेकामा हालसम्म ४ सय ५३ वटा पसल र फर्ममा कैफियत फेला परेको छ ।