अफगानिस्तानको काबुलमा बम आक्रमणमा परी ज्यान गुमाएकाहरुका आफन्तजन र घाइतेहरुले क्षतिपूर्ति दिलाउनका लागि सरकारले पहल नगरेको गुनासो गरेका छन्।
काबुल आक्रमणमा परी ज्यान गुमाएकाहरुका आफन्तजन र घाइतेहरुले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सरकारले पहल नगरिदिएका कारण आफूहरुले उचित क्षतिपूर्ति पाउन नसकेको बताए।
घाइते अमृत रोकाय क्षेत्रीले आफूहरुले क्यानेडियन दूतावासको सुरक्षार्थ काम गरेको भन्दै सरकारले क्यानेडियन दूतावासबाट क्षतिपूर्ति दिलाइदिनुपर्ने बताए। बम आक्रमणमा पति गुमाएकी काठमाडौकी गंगा सुवेदीले क्यानेडियन दूतावासबाट क्षतिपूर्ति दिलाउने पहल गरिदिनका लागि अनुरोध गर्न समय माग गर्दा परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले उपेक्षा गरेको आरोप लगाइन्।
बम आक्रमणमा परी ज्यान गुमाएकाहरुका परिवारलाई काबुलस्थित ब्रिटिश कम्पनी साब्र इन्टरनेष्नलले ३० हजार डलरका दरले क्षतिपूर्ति दिइसकेको छ। साब्र इन्टरनेष्नलमा सुरक्षा गार्डका रुपमा कार्यरत नेपालीहरु कामका लागि कम्पनीबाट क्यानेडियन दूतावास जाने क्रममा गत असार ६ गते आत्मघाती बम आक्रमणमा परेका थिए। बम आक्रमणमा १२ जना नेपालीको मृत्यु भएको थियो भने ७ जना घाइते भएका थिए।