राजनीतिक परिवर्तनले मात्र देशको आर्थिक समृद्धि नहुने भन्दै अब औद्योगिकरणको परिवर्तन आवश्यक रहेको उद्योगीहरुले बताएका छन्। राजनीतिक र सरकार परिवर्तनको खेल भइरहेपनि औद्योगिकीकरणको सोचमा परिवर्तन नहुँदासम्म देशमा आर्थिक समृद्धि नहुने र उद्योगमैत्री वातावरण नबन्ने उनीहरुको भनाइ छ।
रुपन्देही उद्योग संघको ३८ औं बार्षिक साधारणसभामा बोल्ने वक्ताहरुले सरकार परिवर्तनको खेलमा राष्ट्रिय अर्थतन्त्र र स्वदेशी उत्पादन खस्किदैं गएकोमा चिन्ता व्यक्त गरे। कार्यक्रममा बोल्दै उद्योगमन्त्री नविन्द्रराज जोशीले युवाहरुलाई उद्यमशील बनाउने सरकारको पहिलो प्राथमिकता रहेको बताए। उनले नयाँ उद्योगमा लगानी र आयातलाई प्रतिस्थापन गर्ने उद्योग स्थापनाका लागि औद्योगिक ऐनले बाटो खुल्ला गरेको दावी गरे। विदेशमा गएर गर्ने कामको अवसर नेपालमै उपलब्ध गराउने वातावरण मिलाउने योजनाका साथ उद्यामशीलताको अवधारणालाई सरकारले अगाडि सारेको उनले बताए।
औद्योगिक ऐन लागू भएपश्चात उद्योगीहरुले लद्युउद्योग निःशुल्क दर्ता गर्नसक्ने भन्दै बन्द भएका समेत अब सञ्चालनको तयारीमा रहेको मन्त्री जोशीले जानकारी दिए। बन्द उद्योग सञ्चालनका लागि सरकारले पि.पि मोडलको अवधारणा लिएको भन्दै त्यसको स्वामित्व नेपाल सरकारको हुने उनले जानकारी दिए। नेपालको अर्थतन्त्रलाई बलियो बनाउन नयाँ सोच आवश्यक रहेको भन्दै मन्त्री जोशीले सम्भावनाको खोजी गर्दै निजी क्षेत्र र सरकार मिलेर काम गर्नुपर्ने बताए।
‘औद्योगिक क्षेत्रको सम्भावनाका लागि देशैभरीका प्रत्येक जिल्लामा एक÷एक जना उत्प्रेरक राख्ने योजनामा सरकार लागेको छ र हरेक जिल्लामा सम्भावनाको खोजी गरिने छ,’ उनले भने। नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले उद्योगमा लगानीको वातावरण तयार नभएसम्म देशलाई समृद्ध बनाउन नसकिने भन्दै सबैभन्दा पहिले उद्योगमा लगानीको वातावरण बनाउनुपर्ने बताए। उद्योगीहरुले अर्थतन्त्रलाई टेवा दिएको भएपनि राज्यबाट उद्यमीहरु अपहेलित हुँदा लगानी बढ्न नसकेको शर्माले प्रष्ट पारे।
नेपालमा असंख्य सम्भावना भएपनि राजनीतिक दलले सत्तालाई मात्र प्राथमिकता दिँदा देशमा समृद्धि हुन नसकेको उनको भनाई थियो। अध्यक्ष शर्माले जग्गा बेचेर धन कमाउने प्रवृत्ति हावी हुँदा पनि देशले गति लिन नसकेको भन्दै यस्तो प्रवृत्ति बन्द गरी सरकारले उत्पादनको थालनी विकास गर्नुपर्नेमा जोड दिए। रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले औद्योगिक क्षेत्रको विकासबिना पलायन युवा शक्तिलाई रोक्न नसकिने भन्दै युवा लक्षित लगानीका कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए।
उनले औद्योगिक ऐनमा भएका प्रावधानलाई तत्काल कार्यान्वयन गर्न नीतिगतरुपमा कार्य सम्पन्न गर्नुपर्ने बताए। ढकालले क्रसर उद्योग बन्द हुँदा विकास निर्माणका कार्य प्रभावित भएको भन्दै सञ्चालन गर्न उद्योगमन्त्रीले पहल गरिदिनुपर्ने बताए। यसैगरी औद्योगिक व्यवसायी विकास प्रतिष्ठानका कार्यकारी निर्देशक लक्ष्मण भट्टराईले सम्भावित उद्यमीलाई तालिम र प्रबद्र्धनात्मक कार्य गर्नेगरी प्रतिष्ठानको शुभारम्भ देशैभरी हुन लागेकाले यस कार्यको थालनीले पनि औद्योगिक विकासमा टेवा पु¥याउने विश्वास व्यक्त गरे।