विश्व क्रिकेटको सबैभन्दा धनी भारतीय क्रिकेट बोर्ड (बिसीसीआई) को बैक अकाउन्ट फ्रीज भएको छ। भारतीय क्रिकेटमा पछिल्लो समय देखिएको विवादका कारण बिसीसीआईको बैक अकाउन्ट फ्रीज भएको हो।
भारतीय क्रिकेटको संरचनामा सुधार गर्नु पर्ने लोढा कमिटीको निर्णय बिसीसीआईले लागु नगरेपछि अकाउन्ट फ्रीज गर्नु परेको बताइएको छ। यसले गर्दा न्युजिल्यान्डको भारत भ्रमण प्रभावित बन्ने सम्भावना बलियो भएको छ। बिसीसीआईले पनि अविलम्ब आफ्नो बैक अकाउन्ट नखोले न्युजिल्यान्डविरूद्ध बाँकीको एक टेस्ट र ५ एकदिवसीय शृंखला प्रभावित बन्न सक्ने बताएको छ। भारतले तीन टेस्टको शृंखलामा २–० को अग्रता बनाइसकेको छ।
भारतीय क्रिकेटमा नेतृत्वलाई लिएर भइरहेको लुछाचुडीका बीच भारतको सर्वोच्च अदालतले लोढा कमिटी गठन गरेर संरचनागत सुधारमा फैसला सुनाउन अधिकार प्रत्यायोजन गरेको थियो।
लोढा कमिटीले आफ्नो फैसला पालना नगरेको भन्दै बिसीसीआईको खाता रहेको बैकमा सोमबार पत्राचार गरेको थियो। जुन पत्रको आधारमा यस बैक बैक अफ महाराष्ट्रले बैक अकाउन्ट फ्रीज गरिसकेका छन्।
बैक अकाउन्ट फ्रीज भएपछि खेलाडीलाई दिने पारिश्रमिकदेखि शृंखलाका लागि आवश्यक पर्ने रकम जुटाउन बिसीसीआईलाई गाह्रो पर्ने बताइएको छ। भारतले आइतबारदेखि इन्दौरमा तेस्रो टेस्ट खेल्दैछ।