नयाँशक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले देश विकासका लागि स्थायी सरकारको आवश्यकता रहेको बताएका छन्।
बडादसैँ, दीपावली, नेपाल सम्बत् तथा छठको अवसरमा नयाँ शक्ति पार्टी गोरखाले बुधबार सदरमुकाममा आयोजना गरेको कार्यक्रमलाई टेलिफोनबाट सम्बोधन गर्दै उनले मुलुकमा कम्तिमा पाँचवर्ष टिक्ने सरकार आवश्यक परेको बताए। देशमा आर्थिक समृद्धि ल्याउन स्थायी सरकारको खाँचो रहेको उनको भनाइ थियो।
तनहुँको आँबुखैरेनी नजिक ऐनापहरामा झरेको पहिरोले पृथ्वीराजमार्ग पूर्णरुपमा अबरुद्ध भएपछि पूर्वप्रधानमन्त्री भट्टराईले बाटोबाटै टेलिफोन गरी कार्यक्रमलाई सम्बोधन गरेको उक्त पार्टीका स्थानीय नेता ज्ञानेन्द्र कुमालले जानकारी दिए। रासस