तनहुँको ब्यास नगरपालिका–१ अम्रेनीमा बिहीबार ग१ख ४१५३ नं को बस दुर्घटना हुँदा ५० जना यात्रु घाइते भएका छन्।
मुग्लिनबाट दमौली आउँदै गरेको उक्त बस दुर्घटना हुँदा उनीहरु घाइते भएका हुन्। बस दुर्घटनामा परी गम्भीर घाइते हुने ब्यास–५ की २२ वर्षीय पार्वती भुजेललाई पोखरा पठाइएको र अन्य घाइतेको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
घाइतेमध्ये अधिकांशको शरीरको विभिन्न भागमा चोट लागेको छ। गाडी उछिन्ने क्रममा उक्त बस सडकबाट चिप्लेर तल खेतमा खसेर दुर्घटना भएको हो। बस चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
तनहुँको एक्लेफाँटमा बस दुर्घटना हुँदा पाँचजना घाइते
तनहुँको आँबुखैरेनी नगरपालिका–३ स्थित एक्लेफाँटमा बिहीबार ग१ख ४४६२ नं का बस दुर्घटना हुँदा पाँचजना यात्रु घाइते भएका छन्।
आँबुखैरेनीबाट डुम्रे जाँदै गरेको बस उक्त ठाउँमा दुर्घटना हुँदा ती यात्रु घाइते भएका हुन्। दुर्घटनामा परी गम्भीर घाइते भएका बन्दीपुर नगरपालिका–९ बस्ने ३७ वर्षीय बुद्धिबहादुर गुरुङलाई उपचारका लागि काठमाडौँ पठाइएको र सामान्य अवस्थाका घाइतेको आँबुखैरेनीको छिम्केश्वरी अस्पतालमा उपचार भइरहेको जिप्रकाले जनाएको छ। बस चालक फरार रहेकाले प्रहरीले खोजी गरिरहेको छ। रासस