पोर्चुगलका पूर्व प्रधानमन्त्री एन्टोनियो गुटेरर्स संयुक्त राष्ट्र संघका नवौं महासचिव बन्ने भएका छन्।
बिहीबार संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदमा भएको मतदानबाट उनी निर्वाचित भएका हुन्। सुरक्षा परिषदका १५ मध्ये १३ सदस्यले उनको पक्षमा मतदान गरेका थिए।
उनको नाम अब अनुमोदनका लागि राष्ट्रसंघीय महासभामा पठाइने छ। महासभाबाट अनुमोदन भएपछि आगामी २०१७ जनवरीबाट उनको कार्यकाल सुरु हुनेछ।
वर्तमान महासचिव बान कि मुनको कार्यकाल सकिएपछि उनी यो पदमा आसिन हुनेछन्।
संयुक्त राष्ट्रसंघको महासचिव बन्ने उनी पहिलो सरकार प्रमुख हुन्।
पोर्चुगल समाजवादी पार्टीका पूर्वप्रमुखको समेत जिम्मेवारी सम्हालेका उनी सन् १९९५मा प्रधानमन्त्रीमा निर्वाचित भएका थिए।
सन् २००५ देखि २०१५ सम्म उनी शराणार्थीको अधिकारका पक्षमा संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको रुपमा क्रियाशील रहे।