पूर्वमन्त्री माधवप्रसाद घिमिरेसहित तीन जना त्रिशूली नदीमा बेपत्ता भएपछि सरकारले गठन गरेको छानबिन समितिले आजदेखि स्थलगत अध्ययन थालेको छ।
समितिमा पूर्वप्रहरी महानिरीक्षक कुबेरसिंह राना संयोजक तथा सदस्यमा सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक प्रेमकुमार शाही, नेपाल प्रहरीका नायब महानिरीक्षक पङ्कज श्रेष्ठ, सडक विभागका उपमहानिर्देशक उमाकान्त झा र इन्जिनियर मधुसूदन साँखी छन्। समितिले घटनास्थलमा सडकको अवस्था, दुर्घटनाका कारण, उद्धार र खोजी लगायत विषयमा अध्ययन गर्नेछ। सशस्त्र प्रहरी विपत् व्यवस्थापन तालिम केन्द्र कुरिनटारका प्रहरी उपरीक्षक गणेशबहादुर थापाका अनुसार समितिका सदस्यले आज बिहान १०ः३० बजेदेखि स्थलगत रुपमा काम थालेका हुन्। यही असोज ९ गते काठमाडौँतर्फ जाँदै गर्दा घिमिरे सवार गाडी पृथ्वी राजमार्गको घोप्टेभिरबाट त्रिशूलीमा खसेको थियो।
दुर्घटनामा परी पूर्वगृह तथा परराष्ट्रमन्त्री सहित दुई भाइ नदीमा बेपत्ता छन् भने आमासहित तीन जनाको मृत्यु भएको छ। घाइते चालकको काठमाडौँमा उपचार भइरहेको छ। हालसम्म खोजी जारी रहे पनि गाडी र बेपत्ता व्यक्ति फेला पार्न सकिएको छैन। रासस