महिला क्रिकेट टोलीले नेपालीहरूको महान चाँड बडादशैको शुभकामना आफ्ना समर्थकलाई विजयबाट दिएका छन्। विश्वकप छनोटअन्तर्गत अघिल्लो २ खेलमा पराजय भोगेको महिला टोलीले मंगलबार प्रतियोगिताको बलियो टोली चीनलाई २० रनले पराजित गरेको छ।
नेपालका दुई अनुभवी खेलाडी नेरी थापा र सिता रानामगर उत्कृष्ट लयमा देखिएपछि नेपालले एसियाली क्षेत्रको छनोटअन्तर्गत पहिलो खेल जितेको हो। लगातार तेस्रो पल्ट टस जितेर ब्याटिङको निर्णय गरेको नेपालका लागि नेरीले मध्यक्रममा २ छक्का र २ चौकाको सहयोगले ३८ रन बनाइन्। उनको उत्कृष्ट ब्याटिङका कारण नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै ९५ रन बनाउन सफल भएको थियो।
नेपालको प्रतियोगितामा यो उच्च योगफल हो। अघिल्लो दुई खेलमा उत्कृष्ट ब्याटिङ गरिरहेकी निर्मला शाहीले चीनविरूद्ध पनि १ छक्काको सहयोगले १४ रन बनाइन्। विकेटकिपर ज्योती पाण्डेले मध्यक्रममा १० रन जोडिन्।
नेपालले १० ओभरको खेल समाप्त नहुँदै ३७ रनमा ४ विकेट गुमाइसकेको थियो। तर, यो स्थितिलाई उल्ट्याउदै नेरी र ज्योतीले पाँचौ विकेटका लागि ६ दशमलव ३६ को औषतले ३३ बलमा ३५ रन जोडेपछि नेपालले १५ ओभरमा ७२ रन बनाएको थियो। चिनियाँ बलरले लय समात्न नसक्दा नेपाललाई थप १५ रन अतिरिक्तबाट जम्मा भएको थियो।
चीनलाई निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ७५ रनमा रोक्न कप्तान रुबिना क्षेत्रीसँगै सिता र सबनम राईले उत्कृष्ट बलिङ गरे। प्रारम्भिक बलर रुबिना विकेट लिनबाट चुकिन्। तर, उनले ४ ओभरमा १ मेडन राख्दै २ दशमलव ५० को औसतले १० रन मात्र खर्चेपछि चिनियाँ ब्याट्सवुमन दबाबमा परेका थिए। विकेट लिने मामिलामा सिता भाग्यमानी देखिइन्। उनले ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिइन्। सबनम सबैभन्दा प्रभावशाली रहिन्। उनले ४ ओभरमा २ दशमलव ४० को औसतले १० रन मात्र खर्चेर २ विकेट लिइन्। इन्दु वर्मा र सरिता मगरले पनि १–१ विकेट लिए।
यद्यपि नेपालले खेल जीते पनि ५ विकेट लिएकी चिनियाँ बलर ली यिङयिङ ‘म्यान अफ दि म्याच’ घोषित भइन्। उनले पुछारमा अविजित १० रन पनि बनाएकी थिइन्।