सभामुख ओनशरी घर्तीले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीबिरुद्ध लगाइएको महाअभियोग प्रक्रिया अगाडि बढिसकेकाले अब टुंगोमा पुग्ने बताएकी छन्।
आफ्नै कार्यकक्ष सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दे घर्तीले कार्कीबिरुद्ध लगाइएको महाअभियोग प्रक्रिया अगाडि बढिसकेकाले अब कुनै हालतमा यस विषयमा चलखेल हुने सम्भावना नरहेको स्पष्ट पार्दै अब प्रक्रिया टुंगोमा पुग्ने बताइन्।
‘अब यो प्रक्रिया अघि बढिसकेको छ यसमा कुनै खालको चलखेल हुन सक्दैन’, सभामुख घर्तिले भनिन्, ‘अब प्रस्तावकले फिर्ता लिए मात्रै रोकिने हो त्यस्तो हुने कुरै भएन।’
नेपाली कांग्रेस आन्तरिक छलफलमा रहेकोले मंगलबारका लागि महाअभियोग प्रस्ताव पेश गर्ने समय तोकिएको सभामुख घर्तीले बताईन्।
‘मेरो चाहाना यस्तो महत्वपूर्ण प्रस्ताव पेश गर्ने र छलफल गर्ने प्रक्रियामा प्रमुख दलहरू एक ठाउँमा आउन् भन्ने हो,’ उनले भनिन्, ‘मगंलबार प्रस्तावकले महाअभियोग प्रस्ताव पेश गरेपछि त्यही दिन पनि छलफल गर्न सकिन्छ यदी दलहरुले तयारीका लागि समय मागे भने अर्को दिन तोक्न सकिन्छ।’
नियमावलीमा नै सबै प्रक्रिया तोकेकोले यसमा कुनै आलटाल नहुने सभामुख घर्तीको भनाई छ।
‘सबै सांसदहरुले बोल्न चाहे भने मैले बोल्न दिनुपर्छ पेलेर जान मिल्दैन यस्तो अवस्थामा केही दिन छलफल लम्बिन सक्छ,’ उनले भनिन्, ‘दलहरुले सहमतिका आधारमा प्रतिनिधिमुलक धारणा राख्ने सहमति गरे भने एक दिनमै छलफल सकिन्छ।’
महाअभियोग प्रस्ताव अघि बढाउने बिषयमा दलहरू बिच मतभिन्नता नभएकोले आफूलाई पनि सजिलो हुने उनले बताइन्।
महाअभियोग प्रस्ताव दर्ता हुने दिनमा कार्यालय समयमानै आफूलाई जानकारी भए पनि यस विषयमा छलफल गर्दा समय लागेको भन्दै उनले भनिन्, ‘मेरा लागि यो पहिलो अनुभव थियो कानुनी सल्लाहाकार र संसद सचिवालयका कर्मचारीसँग छलफल गरेर निर्णय गर्दा ढिलो भएको हो।’