सुरुङ्गामा ‘सहारा सुरुङ्गा गोल्ड कप’ प्रतियोगिताको चौथो संस्करण शनिबारदेखि सुरू भएको छ।
सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीले कनकाई उच्च माविको खेल मैदानमा सो प्रतियोगिताको उद्घाटन गरे। सुरुङ्गा जेसीजको आयोजना र सहारा बचत तथा ऋण सहकारी संस्थाको मुख्य प्रायोजनमा सुरू भएको उक्त प्रतियोगितामा नेपाली सेना, नेपाल पुुलिस क्लव, सशस्त्र प्रहरीको एपिएफ, हुन्डाई मनाङ मस्र्याङ्दी क्लव, सङ्कटा क्लव काठमाडौँ, रुपन्देही एघार, रमपम झापा एघार र आयोजक सुरुङ्गा टिमको सहभागिता रहेको छ।
प्रतियोगिताको विजेताले तीन लाख ५१ हजार १११ र उपविजेताले रु दुई लाख ५१ हजार १११ पुरस्कार पाउने छ। विगत चार वर्षदेखि लगातार सञ्चालन भइरहेको प्रतियोगिताले जिल्लाको फुटबलको विकासलाई मदत पुग्ने सुरुङ्गा जेसिजकी अध्यक्ष सरला पोखरेलको भनाइ छ।
यसैबीच, उद्घाटन खेलमा नेपाल पुलिस क्लबले आयोजक सुरुङ्गा–११ लाई ४–० गोल अन्तरले पराजित गरेको छ। पुलिसको तर्फबाट दिनेश गुरुङ, तेज तामाङ, निरकुमार राई र जुमनु राइले गोल गरेका थिए। आइतबार त्रिभुवन आर्मी क्लब र रुपन्देही–११ बीच खेल हुने छ। रासस