वीरगन्जस्थित आदर्शनगर रङ्गशालामा सञ्चालित ‘योग विज्ञान शिविर २०७३’ को दोस्रो दिनको आज मधेस केन्द्रित दलका नेताले उद्घाटन गरेका छन् ।
पतञ्जलि योगपिठ नेपालद्वारा आयोजित उक्त योग शिविरको तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) का अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरदसिंह भण्डारी, तराई–मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र यादव र नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झाले संयुक्त रुपमा उद्घाटन गरेका हुन्।
सो अबसरमा तमलोपाका अध्यक्ष महन्थ ठाकुरले स्वास्थ्य शरीरमा स्वास्थ्य विचारले वास गर्ने र स्वास्थ्य विचारले मात्र समाज र राष्ट्रलाई भलो गर्ने बताए।
यो शिविरले शरीरमा देखिएको स्वास्थ्य समस्या मात्र समाधान गर्दैन्, यसले व्यक्तिको सोचलाई सकारात्मक बनाउने काम समेत गर्छ, उनले भने – ‘सकारात्मक सोचले मात्र समाज र राष्ट्रलाई निर्माण गर्न सकिन्छ।’
शिविरका सहभागीलाई योगका आसनको प्रशिक्षण दिँदै पतञ्जलि योग पिठका संस्थापक अध्यक्ष योग गुरु स्वामी रामदेवले स्वस्थ्य शरीरमा स्वास्थ्य विचारले वास गर्ने र स्वास्थ्य विचारले नै मानव सभ्यताको विकास क्रमलाई आगडि बढाउन सकिने बताए।
उनले हिमाली, पहाडी र मधेसी भन्दा पनि नेपाली भएको भावनाले मुलुकको एकतालाई बलियो बनाउने हुँदा राष्ट्र विकासका लागि सबै नेपालीलाई एकतावद्ध भएर अगाडी बढ्न आग्रह गरे।
“योगले व्यक्तिको रोग प्रतिरोधात्मक क्षमतालाई बढाइ रोगी हुनबाट बचाउने काम मात्र नगरी व्यक्तिको नकारात्मक सोचलाई समेत नष्ठ गरी देश जनता र समाजप्रति जिम्मेवार बनाउने काम गर्छ” स्वामी रामदेवले भने –“स्वास्थ्य समाज निर्माणका लागि स्वास्थ्य विचार, अध्यात्ममा विश्वास, व्यक्तिलाई इमादार तथा निष्ठावान हुन आवश्यक रहेकाले आफू विश्वभरी योग शिविरको अयोजना गरी यिनै विशेषतालाई योगको मध्यमले व्यक्तिमा प्रविष्ट गराउने काम गरिरहेको छु ।”
उनले विश्वभरीको मानव कल्याण नै शान्ति, सुविचार, अहिंसामा केन्द्रित भएकाले एकता, राष्ट्र प्रेम, सु–स्वास्थ्य र सुविचारको सन्देशलाई विश्वभरी भ्रमण गरी छर्ने काम गर्दै आएको बताए।
बिहान ५ बजे सुरु भएको योग शिविरमा करिब सात हजार सर्वसाधारणको सहभागिता रहेको आयोजकले जनाएका छन् ।
शिविरमा नेपालको बारा, पर्सा, रौतहट, मकवानपुर र चितवन तथा भारतको सीमावर्ती सहर रक्सौल, सुनौली, रमगढवालगायतका स्थानबाट सर्वसाधारणको सहभागिता रहेको आयोजकले जनाएको छ । रासस