मन्त्रिपरिषद् बैठकले संविधान संशोधन प्रस्ताव आजै पारित गरी संसदमा दर्ता गराउने प्रधानमन्त्री पुष्पकमल दाहालले माओवादीको केन्द्रका नेताहरुलाई जानकारी गराएका छन्। केहीबेरअघि पार्टी कार्यालय पेरिसडाँडामा सकिएको माओवादीको केन्द्रको पोलिटब्युरो बैठकमा प्रधानमन्त्रीले यस्तो जानकारी गराएको बैठकमा सहभागी माओवादी केन्द्रका एक नेताले सेतोपाटीलाई बताए।
ती नेताका अनुसार बैठकमा मधेसी मोर्चाले संशोधनमा साथ दिने र चुनावमा जाने ग्यारेन्टी नगरुञ्जेल संशोधन प्रस्ताव अगाडि नबढाउन दबाब दिइरहेका माओवादी केन्द्रका नेताहरुलाई प्रधानमन्त्रीले भने – मैले उपेन्द्र यादवसहित मोर्चाका सबै नेताहरुसँग छुट्टछुट्टै कुरा गरेको छु। उहाँहरु सबैले संशोधनको पक्षमा भोट हाल्ने र निर्वाचनमा जाने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।
उनका अनुसार बैठकमा प्रधानमन्त्रीले थपे– कदाचित् संशोधन प्रस्ताव पास नभएपनि चुनावमा जाने मोर्चाका नेताहरुले वचन दिएका छन्।
प्रधानमन्त्रीसँग सोमबार साँझ बालुवाटारमा भेटेर पूर्वप्रधानमन्त्री तथा नया शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले पनि संविधान संशोधनमा आफ्नो समर्थन रहेको बताएको प्रधानमन्त्रीले माओवादीका बरिष्ठ नेताहरुलाई जानकारी दिएका छन्।
सोमबार बिहान भट्टराई र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले अहिले दर्ता गर्न लागिएको संशोधन प्रस्तावले मुलुकको समस्या हल नहुने भन्दैे संयुक्त वक्तव्य निकालेका थिए।