झापाको सताक्षीधाममा वर्षेनि आयोजना हुँदै आएको बाला चतुर्दर्शी धार्मिक मेलाको भेटी यस वर्ष ६ लाख बढी संकलन भएको छ। यो भेटी गत वर्षको तुलनामा ६३.३१ प्रतिशतले बृद्धि हो। सताक्षीधाम मन्दिर विकास समितिको बिहीबार बसेको पूर्ण बैठकले भेटी सार्वजनिक गरेको हो।
गएको मंसिर १३ गते आयोजना भएको बाला चतुर्दर्शी धार्मिक मेलामा स्टल बिक्रीको २५ हजार र सहयोग भेटीबाट ५ लाख ७५ हजार १ सय ९३ गरि कुल ६ लाख १ सय ९३ रुपैयाँ संकलन भएको सताक्षीधाम मन्दिर विकास समितिका सहसचिव ज्ञानु लुइँटेलले बताए। उनका अनुसार गत वर्ष ३ लाख ८० हजार भेटी संकलन भएको थियो।
मेलामा तिर्थयात्रिको संख्या बढेको कारण भेटी पनि बढेको समितिको ठम्याइ छ। समितिका सहसचिव लुइँटेलले भने, ‘यो वर्ष सताक्षीधाममा सतविज छर्नेको संख्या ५० हजारमाथि थियो। सताक्षीधाम मन्दिर विकास समितिले गतवर्षझै मेला सकिएको साता बित्न नपाउदै भेटी सार्वजनिक गर्ने कार्यलाई यस वर्ष पनि निरन्तरता दियौं।’