विमान दुर्घटनामा ज्यान गुमाएका ब्राजिलको ‘ए’ डिभिजन क्लब चापाकोइन्सेका खेलाडीहरू यही महिनाको अन्त्यतिर क्लबको सफलताको खुसियालीमा छुट्टी मनाउन विदेश घुम्न जान लागेको खुलासा भएको छ।
क्लबका कप्तान क्लेभेर सान्तनाकी श्रीमती रोसानगेला लोउरेइरोले यसको पुष्टी गर्दै डिसेम्बर ११ पछि क्लबका १३ खेलाडीसँगै आफूहरू डोमिनिकन रिपब्लिक घुम्न जान लागेको बताइन्। डिसेम्बर ११ मा क्लबले लिगको अन्तिम खेल एट्लेटिको मिनेरोसँग खेल्दै थियो।
पछिल्लो समय क्लबले एकपछि अर्को गर्दै पाइरहेको सफलताका कारण स्थानीय समर्थक पनि निकै दंग थिए। चापाकोइन्से २०१४ मा ‘ए’ डिभिजन क्लबमा उक्लिएको थियो। पहिलो विदेशी प्रतियोगिताको रुपमा यो क्लब दक्षिण अमेरिकाकै दोस्रो ठूलो प्रतियोगिता कोपा सुदामेरिकाना खेल्न कोलम्बियातर्फ उडेको थियो। तर, मेडलिन शहरको केही अगाडि ला सेजामा विमान दुर्घटना हुँदा क्लबका १९ खेलाडी र प्रशिक्षकको निधन भएको थियो।
लोउरेइरोले खेलाडीको सबै परिवार सफलताको खुसियाली मनाउन डोमिनिकन रिपब्लिक जाने तयारीमा रहेको बताइन्। ‘हामीहरू ऐतिहासिक भ्रमणको तयारीमा थियौं। टोलीका केही सदस्य पाका भएका कारण पनि यो ऐतिहासिक भ्रमण सधैको लागि यादगार बन्ने थियो। हामी एक दिन क्लब त छोड्थ्यौ नै तर सधै सँगै हुन चाहन्थ्यौं,’ उनले ब्राजिलियन मिडियालाई बताइन्।
विमान दुर्घटनामा मारिएका खेलाडीलाई श्रद्धाञ्जली दिन खेलाडीका परिवार र साथीहरूले आफ्नो हातको पाखुरामा विमान र प्रेम अंकित लोगो टाँटुमार्फत खोपेका छन्। विमान दुर्घटनामा मारिएका सान्तना क्लबका महत्वपूर्ण सदस्य थिए। उनी तीन वर्ष स्पेनको चर्चित क्लब एट्लेटिको म्याड्रिडबाट व्यवसायिक फुटबल खेलेर गत वर्ष चापाकोइन्सेमा अनुबन्धित भएका थिए। उनी २००७ मा ब्राजिलकै सान्तोष क्लबबाट ५० लाख स्टर्लिङ पाउन्डमा म्याड्रिड स्थानान्तरण भएका थिए।
म्यानचेस्टर युनाइटेडका गोलकिपर डेभिड डे जिया उनको नजिकका साथी थिए।