प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपालका लागि अमेरिकी राजदूत अलाइना टेप्लिसबीच सोमबार बिहान भेट भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री र टेप्लिसबीच नेपालको समसामयिक राजनीतिक परिस्थिति र संक्रमणकालीन न्याय एवं यसको व्यवस्थापन सम्बन्धि कुराकानी भएको थियो।
भेटमा प्रधानमन्त्रीले संविधान कार्यान्वयन गर्न सरकार गम्भीर रुपमा सहमतिको प्रयासमा लागेको जानकारी दिँदै सबै पार्टीहरु समझदारीकै माध्यमबाट संविधान कार्यान्वयनको प्रक्रियामा आउने बताए। प्रधानमन्त्रीले नेपालको शान्ति प्रक्रिया र द्धन्द्धको व्यवस्थापन मौलिक भएको भन्दै सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोगको प्रतिवेदनका आधारमा संक्रमणकालीन न्यायको व्यवस्थापन गरिने बताए।
भेटमा प्रधानमन्त्रीले भर्खरै अमेरिकामा सम्पन्न राष्ट्रपतीय निर्वाचन र अमेरिकामा रहेका नेपालीहरुको भविष्यबारे पनि चासो राखेका थिए।
राजदूत टेप्लिसले नेपालको राजनीतिक प्रक्रिया सकारात्मक दिशामा अगाडि बढेको, अमेरिका सधै नेपालको शान्ति र प्रगतिको पक्षमा रहेको भन्दै अमेरिकामा सम्पन्न राष्ट्रपतीय निर्वाचन परिणामले नेपाल र नेपालीमा कुनै नकारात्मक असर नपार्ने जानकारी दिइको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।