ललितपुर उपमहानगरपालिकामा कार्यरत नगर प्रहरीले रासन भत्तामा आफूहरुलाई विभेद भएको गुनासो गरेका छन्।
नगर प्रहरीलाई नेपाल प्रहरीसरह नै रासन भत्ता उपलब्ध गराउने व्यवस्था भएपनि उपमहानगरपालिकाले भने आय स्रोत पर्याप्त नभएको भन्दै प्रहरी÷सेनाभन्दा झन्डै रु एक हजार कम रकम नगर प्रहरीलाई दिँदै आएकाले उनीहरुले यस्तो गुनासो गरेका हुन्।
नेपाल प्रहरीको रासन भत्ता पाँच हजार २ सय रुपैयाँ छ । ललितपुरमा कार्यरत नगर प्रहरीको भत्ता चार हजार २ सय रुपैयाँ छ । पहिले तीन हजार २ सय रुपैयाँ भत्ता भएकामा चार महिना पहिले एक हजार बढाइएको थियो, तर काठमाडौँ महानगरपालिकाले भने रासन भत्ता नेपाल प्रहरी समान गरेको छ।
नगरपालिकाका सूचना अधिकारी रुद्र गौतमले नगरपालिकाको स्रोत साधनअनुसार नै कर्मचारीलाई सुविधा दिइने बताए । नगर प्रहरीको तलब नगर परिषद्ले नै निर्णय गरेको थियो । उनी भन्छन् – “भत्ता कम भए कर्मचारीले प्रक्रियागत रुपमा माग अघि बढाउनु पर्छ ।” रासस