काठमाडौं उपत्यका र आसपासका जिल्लाहरुमा वायु प्रदुषण निकै बढेको पाइएको छ। वातावरण विभागले गरेको वायु गुणस्तर अनुगमनले उपत्यकामा व्यापक प्रदुषण बढेको देखाएको छ। यो खबर हामीले आजको राजधानी दैनिकबाट लिएका हौ।
अनुगमनअनुसार बिहानको समयमा सबैभन्दा बढी वायु प्रदुषण हुने गरेको छ। ‘बिहानको समयमा धुलोको कणहरु अत्याधिक मात्रामा देखिएकाले त्यसलाई काठमाडौं उपत्यकामा बिहानको समयमा बढी प्रदुषण हुने गरेको पाइएको छ,’ जनसंख्या वातावरण मन्त्रालयका सचिव डा. विश्वनाथ ओलीले भने,‘ उपत्यकाका वायू प्रदुषणको मुख्य कारण यातायातका साधनबाट निस्कने धुँवा र सडक तथा त्यसको छेउछाउबाट उड्ने धुलो र त्यसपछि उपत्यकाको आसपासमा रहेको इट्टा उद्योगहरू रहेको पाइएको छ।’
मानिसले श्वास लिँदा नाक र मुखबाट छिरी असर गर्ने प्रदूषणलाई पीएम भनिन्छ। नेपालले अधिकतम वायुको मापदण्ड पीएम २.५ को मात्रा वायुमा ४० माइक्रोग्राम प्रतिघनमिटर हुनुपर्नेमा १ सय २० घनमिटरसम्म पुगेको पाइएको छ। आइतबार साँझ ५ बजे रत्नपार्कमा रहेको वायु प्रदूषण मापन यन्त्रले दिएको तथ्यांकअनुसार पीएम २.५ को मात्रा १ सय २० पुगेका हो।
प्रदूषणको मात्रा बढी हुनुको कारण मानव सिर्जित प्रदूषण भएको पाइएकाले त्यसको नियन्त्रणका लागि सरकारले काम थालनी गरेको छ। विभागले दिएको तथ्यांकअनुसार उपत्यकामा सवारीसाधनबाट निस्कने धूवाँले पीएम २.५ को ३८ प्रतिशत भाग लिन्छ। यसैगरी, सडकको धुलोका कारण २५ प्रतिशत, कृषिका कारण १८ प्रतिशत, इँटाभट्टाका कारण ११ प्रतिशत, घरबाट खाना पकाउँदा वा अन्य कारणले ३ प्रतिशत, डढेलो वा फोहर जलाउने कारणबाट १ प्रतिशत, उद्योगधन्दाबाट ३ प्रतिशत र अन्य कारणहरूबाट १ प्रतिशत पीएम २.५ को मात्रा वायुमण्डलमा फैलिन्छ। पीएम २ दशमलव ५ ले मानिसलाई विभिन्न रोग लाग्ने र त्यसबाट अन्य रोग सिर्जित भई मृत्युसम्म हुन्छ। गर्मीभन्दा जाडो याममा धेरै वायु प्रदूषणा हुने गरेको पाइएको विभागका सिनियर डिभिजन केमिस्ट शंकरप्रसाद पौडेलले जानकारी दिए। सोही कारणबाट मानिसहरूले गम्भीर समस्या भोग्नुपरेको चिकित्सकहरू बताउँछन्।
पछिल्लो समयमा काठमाडौंको यातायातका साधनमा वृद्धि भएको र विस्तारित सडक समयमै मर्मत तथा निर्माण नहुँदा प्रदूषणको मात्रा झन् बढेको छ। तर, यसतर्फ सम्बन्धित सरोकारवाला निकाय मौन रहेका छन्। सरकारी निकायले यातायातका साधनको गुणस्तर मापन गर्न नसक्दा प्रदूषणको मात्रा कति बढ्यो वा घट्यो भन्ने तथ्य सार्वजनिक गर्न सकिरहेको छैन।
जानकार तथा विज्ञहरूका अनुसार अत्यधिक वायु प्रदूषणका कारण घामको ताप कम हुने, हुस्सु लाग्ने र असहज स्थिति सिर्जना हुने गर्छ। त्यस्तै, एसिडयुक्त वर्षाको पनि खतरा रहन्छ। बढ्दो सहरीकरण, अव्यवस्थित बसोबास र वायु प्रदूषणको खतरातर्फ सरोकारवाला निकायले नजर घुमाउन सकिरहेका छैनन्। जसको प्रत्यक्ष प्रभाव मानव जीवनमा डरलाग्दो रूपमा देखिन सक्छ।