सातौं बृहत राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष भलिबलको खेलमा एकपक्षिय निर्णय भएको भन्दै पश्चिमाञ्चलका खेलाडीले रेफ्री विनय राईमाथि हातपात गरेका छन्। इटहरीको निमार्णाधीन रंगशालामा त्रिभुवन आर्मी क्लबसँग दोस्रो सेमिफाइनल खेलमा हारको कारण रेफ्रीको गलत निर्णय भएको आरोप लगाउदै पश्चिमाञ्चलका खेलाडीले राष्ट्रिय रेफ्री तथा प्रतियोगितामा मुख्य निर्णायकको भूमिका निर्वाह गरिरहेका राईमाथि मुक्का प्रहार गरेका हुन्।
पश्चिमाञ्चल २०–२५, २५–२०, २५–२० र २५–११ को सेटमा पराजित भएको थियो। पश्चिमाञ्चलका खेलाडीले निर्णय दिँदा रेफ्रीले आर्मीको समर्थन गरेका कारण यस्तो परिस्थिति निमार्ण भएको बताए। रेफ्रीमाथि हातपात भएपछि तनावपूर्ण स्थितीलाई नियन्त्रणमा राख्न नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई तैनाथ गरिएको थियो। सुरक्षाकर्मीले नै सुरक्षा दिएर खेलाडीलाई मैदानबाहिर निकालेका थिए।
खेल सकिएलगत्तै हात मिलाउनका लागि जम्मा हुने क्रममा एक्कासि आफूमाथि खेलाडीले हातपात गरेको राईले बताए।
खेल खेलाइरहेको अवस्थामा सटर सञ्जुविक्रम शाहले कोर्टभित्रबाट ताकेर आफूलाई बलले प्रहार गरेको दावी राईले गरे। ‘तर, त्यो सट मलाई लागेन्। मलाई लाग्यो पराजयन्मुख भएका कारण खेलाडीले आफ्नो भावनालाई नियन्त्रणमा राख्न सकेनन्,’ राईले भने–‘ तर, खेल सकिएपछि उनहरु आक्रमण मै उत्रिए।‘
यो घटनापछि केन्द्रीय, क्षेत्रीय र स्थानीय भलिबल संघ, संघका प्रतिनिधी, राष्ट्रिय खेलकुद परिषद्का प्रतिनिधी र राष्ट्रिय तथा अन्तराष्ट्रिय रेफ्रीहरुबीच भएको आकस्मिक बैठकले कुटपिटमा संलग्न खेलाडीलाई एक वर्षका लागि निलम्बन गर्ने निर्णय गरेको छ। कुटपिटमा संलग्न खेलाडी रमेश केसी, लोकेन्द्र भण्डारी र राजन थापालाई एक वर्षका लागि निलम्ब गर्ने निर्णय बैठकले गरेको जानकारी प्रतियोगिताका व्यवस्थापक लेखनाथ पराजुलीले दिए।