प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता सोमप्रसाद पाण्डेले सरकारले संसदमा टेबल गरेको संशोधन विद्येयकमा उल्लेख भएका सीमांकन र भाषाबाहेकका नागरिकता र राष्ट्रिय सभाको प्रतिनिधित्वको बारेमा छलफल गर्न आफूहरु तयार रहेको बताएका छन्।
पूर्वमन्त्री समेत रहेका नेता पाण्डेले सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै संशोधन विद्येयकमा उल्लेख गरिएको सीमांकन हेरफेरको विषय असंवैधानिक भएको जिकिर गरे। उनले भने,‘सीमांकन हेरफेर गर्ने विषय संविधान विपरित छ। यो संविधानको धारा २७४ को विपरित छ। त्यसैले हामी यो विषयमा छलफल नै गर्न दिँदैनौं।’
उनले नागरिकता र राष्ट्रिय सभाको प्रतिनिधित्वको विषयमा छलफल गर्न दिएपनि यो संशोधन विद्येयक पारित हुन कुनै हालतमा नदिने ठोकुवा गरे। अहिले संसद अवरुद्ध गर्ने पक्षमा आफूहरु नरहेको पनि उनले स्पष्ट पारे।