राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितका गुनासो तत्काल सम्बोधन गर्ने भएको छ ।
हाल भूकम्प अतिप्रभावित १४ जिल्लाबाट प्राधिकरणमा करिब दुई लाख गुनासो परेकोमध्ये तत्काल ८७ हजार गुनासोलाई सम्बोधन गर्ने निर्णय भएको प्राधिकरणका सचिव डा. सञ्जय शर्माले जानकारी दिए। यो खबर हामीले आजको गोरखापत्रबाट लिएका हौ।
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)द्वारा शुक्रबार यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्राधिकरण भूकम्पपीडित जनताका गुनासा सम्बोधन गर्नबाट पछि नहट्ने स्पष्ट पारेका हुन्।
नियोगले दोलखा, गोरखा र सिन्धुपाल्चोकका दुई हजार भूकम्प प्रभावित जनतामा गरेको अध्ययनमा प्राधिकरणका प्राविधिक, आर्थिक तथा कानुनी सेवाबाट सन्तुष्टि हुन नसकेको प्रतिवेदन सार्वजनिक गरेको थियो ।
प्रभावित जनतालाई आवास निर्माण गर्न पहिलो किस्ताबापत वितरण भएको रु. ५० हजारबाट पीडितमा आवास निर्माणमा उत्साह जाग्न नसकेको सो अध्ययनले देखाएको थियो ।
कार्यक्रममा नियोगका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठले भूकम्पपीडित चिसोबाट पीडित भएको चर्चा गर्दै उनीहरूलाई छिटो आवास बनाउन सरकारले प्रोत्साहन गर्नुपर्ने खाँचो औँल्याए।
सो अवसरमा नियोगका उपाध्यक्ष प्रा. डा. कुसुम शाक्य, सचिव प्रा. डा. गोपालकृष्ण सिवाकोटी र नियोगका कार्यक्रम अधिकृत विकल श्रेष्ठले पुनःनिर्माणमा समन्वयको खाँचो औँल्याए।