प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले चैतमा चुनाव हुन नसक्ने बताएका छन्। मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै प्रमुख आयुक्त डा. यादवले अब चैतमा चुनाव हुन नसक्ने दाबी गरेका हुन्।
उनले भने, ‘अहिले स्थानीय तहको निर्वाचन कसैले चैतमा हुने भन्छन्, कसैले वैशाख त कसैले जेठमा गर्ने कुराहरु आईरहेका छन्। आयोग नै अचम्मित बनेको छ।’ माघ १५ गतेभित्रै निर्वाचन आयोगलाई ऐन/कानूनहरु दिएमात्रै जेठको पहिलो सातासम्म स्थानीय तहको निर्वाचन गर्न सकिने उनले बताएका छन्।
उनले भने,‘अब चैतमा चुनावमा हुन सक्दैन। वैशाख २८÷२९ गते निर्वाचन सुरु गर्ने हो भने जेठको पहिलो सातासम्म निर्वाचन सम्पन्न गर्न सकिन्छ।’ उनले आयोगले अहिले पुरानै ऐन तथा कानूनहरु अनुसार काम गरिरहेको जनाए।
डा. यादवले स्थानीय निर्वाचन चरणबद्ध रुपमा गर्नुपर्ने बताउँदै भने,‘स्थानीय निर्वाचन चरणबद्ध रुपमा गर्नुपर्छ। दुई वा तीन चरणमा गर्नुपर्छ र, त्यसको लागि सुरक्षा निकायहरुसँग समन्वय गर्नुपर्छ।’ उनले दलीय सहमति वा रानीतिक समझदारी भए प्रतिनिधि सभाको निर्वाचनपनि गर्न आयोग तयार रहेको स्पष्ट पारे।
डा. यादवले भने, ‘निर्वाचन क्षेत्र निर्धारण आयोग गठन हुनुपर्छ। आयोगले प्रतिवेदन दियो भने र १६५ वटै निर्वाचन क्षेत्र निर्धारण भएर अघि बढियो भने आयोगलाई आपत्ति छैन।’ उनले पहिले प्रदेश वा प्रतिनिधि सभाको निर्वाचन गर्ने हो भने पनि सम्भव रहेको बताए। दुवै निकायको चुनाव एकैचोटि गर्न सम्भव भएपनि प्राविधिक रुपमा समस्या हुने उनको भनाई थियो।
आगामी ०७४ माघ ७ गतेभित्रै तीन वटै निकायको निर्वाचन गर्न सम्भव छ त भन्ने पत्रकारको प्रश्नमा डा. यादवले भने, ‘इच्छाशक्ति भए सम्भव छ नि, किन नहुनु?’