प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल)का अध्यक्ष मेङ होङवेले आज भेटवार्ता गरेका छन्।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा नेपालको प्रहरी सङ्गठनको सुदृढीकरणमा इन्टरपोलले गरेको सहयोगप्रति प्रधानमन्त्रीले होङ्वेलाई धन्यवाद दिए। चीनका उपमन्त्रीसमेत रहेका अध्यक्ष होङवेसँगको भेटमा प्रधानमन्त्रीले भने, “नेपाल र चीन पुराना असल छिमेकी हुन्। हाम्रो सम्बन्धलाई थप मजबुत बनाएर हामी नेपाल र चीनबीच सडक, रेल र हवाई ‘कनेक्टिभिटी’ बढाउन चाहन्छौँ ।”
भेटमा प्रधानमन्त्रीले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताउँदै भने, “नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध छ । हामी चीन र तिब्बतविरुद्ध नेपाली भूमि प्रयोग हुन दिने छैनौँ । हिजो, आज र भोलि पनि नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहने कुरा विश्वास दिलाउन चाहन्छु ।”
प्रधानमन्त्रीले नेपाल चिनियाँ राष्ट्रपतिलाई स्वागत गर्न आतुर रहेको बताउँदै भारतको गोवा भ्रमणका क्रममा त्रिदेशीय रणनीतिक साझेदारी र व्यापारिक सम्बन्धबारे आफू, चिनियाँ राष्ट्रपति र भारतीय प्रधानमन्त्रीबीच निकै सकारात्मक छलफल भएको स्मरण गराए।
भेटका क्रममा इन्टरपोलका अध्यक्ष होङवेले नेपाल प्रहरी सुदृढ र व्यावसायिक प्रहरी सङ्गठन रहेको बताउँदै नेपाल प्रहरीलाई थप सबल बनाउन इन्टरपोलको तर्फबाट सदैब सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।
होङवेले नेपालको एक चीन नीतिप्रति धन्यवाद व्यक्त गर्दै फ्रान्समा रहेको इन्टरपोलको मुख्यालय भ्रमण गर्न प्रधानमन्त्रीलाई निमन्त्रणा गरे। होङवेले आफू इन्टरपोलको अध्यक्षमा निर्वाचित हुँदा नेपालले गरेको समर्थन र सहयोगप्रति धन्यवाद दिए।
बुधबारबाट काठमाडौँमा भइरहेको इन्टरपोलको २३औँ एसिया क्षेत्रीय सम्मेलनमा भाग लिन अध्यक्ष होङवे काठमाडौँमा छन्। शुक्रबारसम्म चल्ने सम्मेलनमा ३६ राष्ट्रका कानुन कार्यान्वयन गर्ने अधिकारीको प्रतिनिधित्व भएको छ । रासस