राष्ट्रिय मानवाधिकार आयोगको टोलीले आज सिन्धुलीको कारागार तथा हिरासत कक्षको अवलोकन गरेको छ।
राष्ट्रिय मानव अधिकार आयोगका मानव अधिकार अधिकृत दीपेन्द्र सिंहसहितको टोलीले जिल्ला प्रहरी कार्यालयमा रहेको हिरासत कक्ष र जिल्ला कारागार शाखा सिन्धुलीको अवस्थाका बारेमा स्थलगत अवलोकन गरेको हो।
टोलीले कारागार तथा हिरासतको सुरक्षा, कैदी तथा बन्दीको अलग अलग बसोबासको अवस्था, कैदीको शिक्षा– सूचना– सीप विकास, कारागार तथा हिरासत कक्षको भौतिक अवस्था, स्वास्थ्योपचार र सरसफाइ, कैदीलाई गरिने व्यवहारलगायत पक्षका बारेमा स्थलगत अवलोकन गरेको आयोगका अधिकृत सिंहले जानकारी दिए।
यसैबीच टोली तथा सरोकार भएका निकायबीच सिन्धुलीमाढी कारागार तथा हिरासत कक्षको अवस्था र कैदीबन्दीको मानवाधिकारको अवस्थाबारे भएको अन्तक्रियाका सहभागीले सिन्धुली कारागार तथा हिरासत कक्षको भौतिक अवस्था सुधार गर्नुपर्ने सुझाव दिँदै सिन्धुलीमा महिला कैदी न्यूनतम मानवाधिकार पनि नपाएर जीवन बिताइरहेको र अन्य कैदीले पनि मानवाधिकार के हो भनेर खोज्नुपर्ने अवस्थामा रहेको बताए।
जिल्ला कारागार सिन्धुलीका प्रमुख मातृका पहाडीले सिन्धुलीमा ३५ जनाको क्षमताको कारागार भए तापनि अहिले एक सय पाँच कैदी राख्नुपर्ने बाध्यता भएको बताए। रासस