तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले परिमार्जनसहित संविधान संशोधनको प्रस्ताव पारित हुनुपर्ने बताएका छन्।
विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै उनले मधेसी मोर्चाको दस प्रदेशको माग रहेको र सोअनुरुप उक्त प्रस्तावलाई परिमार्जन नगरिएको अवस्थामा समर्थन गर्न नसकिने स्पष्ट पारे।
सीमाङ्कनसम्बन्धी विवादको टुङ्गो नलागेको र निर्वाचनको लागि कानुन पनि नबनेको अवस्थामा निर्वाचन हुन नसक्ने उल्लेख गर्दै उनले सरकारले निर्वाचन गर्न खोजे सहभागी नहुने धारणा प्रकट गरे।
जनसङ्ख्या र भूगोलको आधारमा गाउँपालिका र नगरपालिकाको गठन हुनुपर्नेमा त्यसअनुरुप नभएकाले मधेसी मोर्चालाई स्थानीय तहको सम्बन्धमा आयोगले पेस गरेको प्रतिवेदन मान्य नहुने जानकारी गराए।
पत्रकारको जिज्ञासामा अध्यक्ष ठाकुरले सीमाङ्कनको हेरफेरका साथै मधेसी मोर्चाको माग पूरा नभएसम्म संसदीय निर्वाचनलाई समर्थन गर्न नसकिने बताए । रासस