नेपाल विद्युत् प्राधिकरण मोरङको उर्लाबारी शाखाले मागअनुसार विद्युत् मिटर वितरण गर्न नसक्दा पूर्वी मोरङमा रहेका उपभोक्ता समस्यामा परेका छन्।
यसअघि प्रत्येक ग्राहकले नयाँ लाइन जडान गर्दा आफैंँले विद्युत् मिटर उपलब्ध गराउँदै आएको प्राधिकरणले पछिल्लो समयमा मौज्दात सकिएपछि मिटर उपलब्ध गराउन सकेको छैन। प्राधिकरण उर्लाबारी शाखाका प्रमुख दिगम्बर यादवका अनुसार घरायसी प्रयोजनका लागि मिटरको माग गरेका पूर्वी मोरङका दुई हजार पाँच सयदेखि तीन हजार उपभोक्ताले मिटर पाउन सकेका छैनन्।
यादवका अनुसार प्राधिकरण क्षेत्रीय कार्यालय विराटनगरबाट नै मागअनुसारको मिटर उपलब्ध हुन नसक्दा अभाव भएको हो। घरायसी प्रयोजनका लागि मिटर उपलब्ध गराउन विद्यत् प्राधिरणको उर्लाबारी शाखामा निवेदन दिएको पाँच महिना बितिसक्दा पनि पाउन नसकेको उर्लाबारी – २ कि ललिता लिम्बूले गुनासो गरे। उनले भने – “मिटर उपलब्ध नहुँदा अँध्यारोमा बस्नुपर्ने बाध्यता छ, बिनामिटर बिजुली बाल्दा चोरीको आरोप लाग्नेभयो ।”
मधुमल्ला– ९ का डिकबहादुर श्रेष्ठले पनि घरका लागि विद्युत् मिटर उपलब्ध गराउन निवदेन दिएको तीन महिना बितिसक्दा पनि पाउन सकेका छैनन्। प्राधिकरण, उर्लाबारी शाखाले मोरङका उर्लाबारी र पथरीशनिश्चरे नगरपालिकासहित टाँडी, मधुमल्ला, राजघाट, इटहरा, हसन्दह र वयरवन गाविसमा सेवा प्रवाह गर्दै आएको छ । रासस