सात पटकसम्म ग्राण्ड स्लाम विजेता बनेकी अमेरिकी टेनिस खेलाडी भेनस विलियम्सको विषयमा खराब प्रतिक्रिया जनाएपछि अमेरिकी ब्रोडकास्ट कम्पनी इएसपिएनका उद्घोषक डग अडलरले जागिर गुमाउनु परेको छ। अस्ट्रेलियन ओपनअन्तर्गत स्टेफानी भोएगेलाविरूद्ध खेलको उद्घोष गर्ने क्रममा एडलरले भेनसलाई ‘गोरिल्ला’ सँग तुलना गरेका थिए।
उनको खराब उद्घोषप्रति ध्यानआकर्षित भएपछि इएसपिएनले एउटा विज्ञप्ति सार्वजनिक गर्दै उनलाई कामबाट हटाइएको जनाएको छ।
‘अस्ट्रेलियन ओपनको दौरान इएसपिएन–३ लाई अन्तर्वार्ता दिँदा डग अडलरले शब्द चयनमा सावधानी अपनाउनु पर्ने थियो,’ इएसपिएनको विज्ञप्तिमा भनिएको छ।
कम्पनीले अडलरले माफी मागिसकेको र उनलाई बाँकीको उद्घोषणबाट हटाइएको स्पष्ट पारेको छ। ५९ वर्षीय अडलरले अस्ट्रेलियन ओपनअन्तर्गत बुधबार राती भएको दोस्रो चरणको खेलमा भेनसविरूद्ध अस्वभाविक तुलना गरेका थिए। पछि उनले आफूले ‘गुरिल्ला’ भन्न खोजेको भन्दै आफ्नो बचाव गर्न खोजेका थिए। भेनसले यो खेल जितेकी थिइन्।