एक समय क्यान्सरबाट संघर्ष गरिरहेका भारतीय क्रिकेटका बिस्फोटक ब्याट्सम्यान युवराज सिंह क्रिकेटबाट सन्यास लिने सोचमा थिए। तर, उनलाई सन्यास लिनबाट भारतीय टिमका हालका कप्तान विराट कोहलीले रोकेका थिए।
तीन वर्षपछि भारतको एकदिवसीय टिममा फर्किएका युवराजले बिहीबार इङ्ल्यान्डविरूद्ध कटकमा खेलिएको दोस्रो एकदिवसीयमा १ सय ५० रनको अविस्मरणीय इनिङ खेले। जसका कारण भारत १५ रनले विजयी हुँदै तीन एकदिवसीयको शृंखला २–० ले जित्न सफल भयो। यसका लागि उनलाई ‘म्यान अफ दि म्याच’ पनि चुनियो।
खेल सकिएपछि स्थानीय पत्रकारहरूलाई अन्तर्वार्ता दिने क्रममा युवराजले विपरित परिस्थितिमा पनि क्रिकेटमा फर्किने केही कारण बताए। यसका लागि उनले विराट कोहलीको खुलेर प्रसंशा गरे। ‘जुन टोलीको कप्तानमा खेलाडीप्रति यति धेरै विश्वास हुन्छ। खेलाडीमा आफैं आत्मविश्वास जागेर आउँछ।’
उनले ड्रेसिङ रुममा अन्य खेलाडीले पनि आफूमा देखाएको विश्वास प्रति खुलेर प्रसंशा गरे। ६ वर्षपछि अन्तर्राष्ट्रिय क्रिकेटमा सतक बनाएका युवराजले आफू कहिल्यै हार नमान्ने खेलाडी भएको बताउन भुलेनन्। तर, उनले आफूलाई पुनः क्रिकेटमा फर्किन अरुले दिएको हौसला प्रति कृतज्ञनता जनाए।
‘सतक नबनाएको धेरै समय भएको थियो। क्यान्सरबाट उन्मुक्ति पाएपछि मलाई क्रिकेटमा फर्किन धेरै संघर्ष गर्नुपर्यो। फिटनेशका लागि मैले धेरै मेहनत गरेको छु। यसैको कारण टिमबाट भित्र–बाहिर रहनुपर्यो,’ सन् २०११ पछि सतक बनाएका युवराजले भने।
यस वर्ष घरेलु रणजी प्रतियोगितामा उत्कृष्ट ब्याटिङ गरेका कारण युवराजलाई पुनः टिममा बोलाइएको थियो। टिममा परेपछि सबैले आफूलाई उत्तिकै हौसला दिएको उनले बताए।