अर्जेन्टिनाका स्टार स्ट्राइकर लिओनल मेसीका बुवाले आफ्नो छोरा बार्सिलोनामै रहने संकेत दिएका छन्। उनले स्पेनिस रेडियो ‘काडेना सेर’ लाई दिएको अन्तर्वार्तामा आफ्नो छोराको बार्सिलोनासँगको सम्झौता अगाडि बढाउने कुरामा कुनै खतरा नभएको बताएका छन्।
उनले मेसीको सम्झौताको विषयमा क्लब अध्यक्ष जोसेप मारिया बार्टोमेउसँग कुरा अगाडि बढेको र त्यो सकारात्मक दिशातर्फ रहेको बताए। बार्सिलोनाले केही महिनाअघि नेइमार, लुइस सुआरेज, सर्गियो बस्क्युट्स र जेभियर मास्चेरानोका अनुबन्ध सम्झौता नवीकरण गरिसकेको छ। तर, मेसीको सम्झौता मात्र नवीकरण हुन बाँकी छ। बार्सिलोनासँग मेसीको सम्झौता यसै सिजनको अन्त्यमा समाप्त हुँदैछ।
गत साता बार्सिलोनाका कार्यकारी प्रमुख ओस्कार ग्राउले मेसीको सम्झौताको विषयमा विवादास्पद बयान दिएका थिए। उनले मेसीको सम्झौताका लागि क्लबले अर्जेन्टिनी स्टारका लागि ‘ब्ल्याक चेक’ दिन नसक्ने बताएका थिए। उनले सम्झौताका लागि मेसीलाई समक्षदारीमा आउन भनेका थिए।
उनको भनाईको लुइस सुआरेजले आलोचना गर्दै समक्षदारीभन्दा पनि मेसीलाई क्लबमा राख्न बार्सिलोनाले हरसम्भव प्रयास गर्नु पर्ने बताएका थिए। पाँच पल्ट विश्वको उत्कृष्ट खेलाडी घोषणा भइसकेका मेसीले यस सिजन २४ खेलमा २७ गोल गरिसकेका छन्।