व्यवस्थापिका संसदको राज्य व्यवस्था समितिले निर्वाचन आयोग सम्बन्धी विधेयक र मतदाता नामावली सम्बन्धी विधेयकलाई अन्तिम रुप दिएको छ।
समितिको सोमबार बसेको बैठकले निर्वाचनको मिति सरकारले वा आयोगले नै घोषणा गर्ने भन्ने विषय बाहेक अन्य विषयलाई टुंगो लगाएको हो ।
समितिले निर्वाचनसम्बन्धी अन्य विधेयकहरुमा भने छलफल जारी रहेको जनाएको छ । अन्य विधेयकहरुमा उपसमितिले मस्यौदा प्रतिवेदन बुझाएपछि मात्र समितिमा छलफल हुने बताइएको छ । यसअघि निर्वाचन आयोगले विधेयकको मस्यौदा गृह मन्त्रालयमा पठाउँदा सरकारसँग छलफल गरेर आफूहरुले निर्वाचनको मिति घोषणा गर्ने प्रावधान राखेको थियो । तर गृह मन्त्रालयले सच्याएर आयोगको परामर्शमा सरकारले नै निर्वाचनको मिति घोषणा गर्ने प्रावधान राखेपछि समितिमा विवाद भएको थियो ।
निर्वाचन आयोगले तयार पारेको राजनीतिक दलसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७३ को मस्यौदामा राष्ट्रिय झण्डा वा चिन्ह प्रयोग गर्ने राजनीतिक दल निर्वाचनका लागि दर्ता हुन नसक्ने व्यवस्था गरेको छ । तर नेकपा एमाले र राप्रपाका सांसदहरुले बिरोध गरेपछि उपसमितिले त्यसबारे पनि निर्णय गर्न सकेको छैन।
समितिले निर्वाचन सम्बन्धी विधेयक टुंगो लगाउन गत पुस ८ गते नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाको संयोजकत्वमा ११ सदस्यीय उपसमिति गठन गरेको थियो । यसैबीच समितिका सदस्यहरुले सरकारको निर्वाचनको मिति घोषणा गर्ने तयारी रहेकाले चाँडै नै निर्वाचनसम्बन्धी विधेयकहरु टुंगो लगाउनुपर्नेमा जोड दिएका छ्न्।
उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले चाँडै नै निर्वाचनको मिति घोषणा गर्ने बताइसकेकाले समितिले निर्वाचनसम्बन्धी ऐनहरु चाँडै टुंगो लगाउनुपर्ने बताए ।
समिति सदस्य यज्ञ सुनुवारले सरकारले निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेकाले समितिले चाँडै नै विधेयकको छलफल गरेर संसदमा पेश गर्नुपर्ने बताए । उनले समितिले नियमित बैठक गरेर समसामयिक विषयमा पनि छलफल गर्नुपर्ने बताए।
समिति सदस्य अइन्द्रसुन्दर नेम्वाङले निर्वाचन प्रणाली अन्र्तगत समानुपातिक निर्वाचन प्रणालीले नै राजनीतिक दललाई सिमा तोकेकाले थ्रेसहोल्ड राखेर साना दलहरुको संसदमा प्रवेशलाई रोक्न नहुने तर्क गरे।
समितिमा निर्वाचन आयोगले आफ्नो सम्पर्क मन्त्रालय प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय हुनुपर्ने माग पनि गरेको छ । आयोगले प्रधानमन्त्री कार्यालय हुन नसके गृहबाहेक अरु मन्त्रालय पनि तोक्नुपर्ने आवश्यक्ता पनि औल्याएको छ ।