मैले ठूलै सन्तले उपदेश दिएको शैलीमा उसको हातै समाएर भनें, ‘दुःख नमान, संसारमा हरेक दुःखको निदान छ। समयले तिमीलाई यो दुःखको घडीबाट चाँडै पार लाउने छ।’ आफैं सरहको साथीलाई उसको दुःखमा सम्झाउने योभन्दा बढी शब्द मसँग थिएनन्। म के नै गर्न सक्थेँ? उसलाई त्यस फकिरको कथा सुनाउने मन थियो जुन कथामा फकिर आफूलाई परेको दुःख साट्न संसारको कुनाकुना पुग्छ तर आफूलाई परेको दुःखभन्दा अरुको दुःख बढी देख्छ अनि अन्त्यमा फकिरले आफ्नो दुःखलाई स्वीकार गर्छ र कसैसँग आफ्नो दुःख नसाट्ने निर्णय गर्छ।
यसअघि मैले मुश्किलले यति विभत्स र टुक्रिएको कुनै केटा मानिसलाई भेटेको थिएँ। केटा मानिस भन्नासाथ स्त्री जातिभन्दा कठोर र निर्दयी स्वभाव भन्ने मेरो बुझाइ हुने गर्थ्यो। निरन्तर उसका आँखाबाट आँशु तप्की रहे, म गलत सावित भएँ।
मेरो केटा साथीले बगाएको आँशु र केटा भएर पनि रोयो भन्ने आशयले मैले यो लेख तयार पारेको होइन। प्रकृतिले मानिसलाई आँशु र हाँसो दुबै दिएको छ। प्रकृती प्रदत्त भावना, संवेग, आवेग र आँशुलाई कुनै समुदाय, जाति वा कुनै संस्कारको पेवा मान्न मिल्दैन।
यही सन्दर्भमा जोड्न चाँहे केही समयअघि कार्यालयको कामले पोखरामा थिएँ। बाटोमा कोही मानिसले मलाई चिनेको संकेत गरेपछि उनलाई सजिलो पार्न म आफैं मुस्कुराइदिएँ। चिनेकोझैं कोही बोल्न आओस् तर म चाहिँ नचिनेझैं गरी मुन्टो बटारौं? यो त सभ्यता भएन। उनले मलाई चिनेका रहेछन्। केही समयको भलाकुसारीमा उनले मलाई सल्लाह दिए, ‘समाज भाँड्ने गरी चाहिँ नलेख्नुहोस् किनकि कलममा तागत हुन्छ। लेखमार्फत समाजलाई एकजुट बनाउनुहोस्।’ कलममा ताकत हुन्छ भन्ने त थाहा थियो तर आफ्नो कलमले समाजमा बिग्रह पो ल्याउँदै छ भन्ने उनको संकेतले उनीसँग जिज्ञाशा राखिहालेँ– मेरो कलमले कसरी समाज भाँड्दै छ? उनले केही तर्क र दलिल पेश गरे। उनका तर्क र बहससँग सहमत हुन सकिनँ र बहसलाई बिट मार्दै नमस्कार गरेर हिडेँ। मेरो कार्यालयको गर्नुपर्ने अरु पनि थुप्रै कामहरु थिए, म बाटो लागेँ।
पोखरामा भेटिएका ती मित्रको कुनै कुरामा म सहमत हुन सकिनँ तर एउटा कुरो मेरो दिमागमा घट्ट घुमेझै घुमिरह्यो। कसरी उनले त्यस्तो तर्क दिन सके कि ‘एनजिओको पैसाको कारण समाजमा डिभोर्स अर्थात् पारपाचुके बढ्यो,’ आखिर जीवन भनेको संयोगहरूको घेराबन्दी न हो। एकपछि अर्कै घटनाको संयोग र ती संयोगका साक्षी हामीहरू। पारिवारिक विखण्डनको वियोगले मेरो केटा साथीको आँखामा आँशु अझै ओभाएको थिएन।
४ वर्षे बैवाहिक जीवन समाप्त पार्ने भयानक निर्णय मात्र थिएन मेरो केटासाथीको अघि आउने दिनलाई कसरी व्यवस्थापन गर्ने चुनौती पनि लावालस्कर लागेका थिए। ४ वर्षसँगै बस्दा के साटिएन? मन मुटु, भावना र विचार सबै साटिए। अग्निलाई साक्षी राखेर एक जन्मको मात्र होइन सात जन्मसम्म नछुटिने कमस खाएको यही जोडी हो। यही जोडी अब जीवनमा एक कदम पनि सँगै चाल्न नसक्ने निर्णयको संघारमा थियो।
अब फर्कौं मेरै साथीतर्फ, म सोचमग्न भएकी छु – एक आपसमा विचार मिलेन, एक आपसमा कुरा मिलेन, एक आपसमा सँगै बस्न नसक्ने भयो यो जोडी अनि छुट्टिने निर्णय गर्यो। यहीँनेर म अलमलमा पनि परेको छु। यो जोडीलाई के ले छुटायो? ‘एनजिओको पैसाले? या यो जोडीलाई किन बाँधी राख्न सकेन त्यो अग्नीको सात फेराले? यस्ता कयौं जोडीलाई एक जन्मसम्ममात्र होइन, सात जन्मसम्म छुट्न नपरोस् भनेर हाम्रो समाजले त्यस्ता सातपत्रे विधिविधान बनाएको हो। र समाज त्यसका लागि अनेक प्रयत्न गर्छ। हेराउने, देखाउने र जुराउने केके गर्दैन? तर, सम्बन्धहरु नचाहेरै छुट्छन्। अग्निमा लिइएको सात फन्को पटुका फुस्केझैं फुस्कन्छ। यतिखेर सम्बन्ध विछोडको असैह्य रापका कारण मेरो केटासाथी भित्रभित्रै पाक्दै छ, उसैसँग जोडिएकी अर्की स्त्री पनि छे, जसले सारा जिन्दगी समाजले गर्ने अनेक प्रश्नको बाण सहन तयार भएर बस्नुपरेको छ। निश्चिय नै ‘डिभोर्सी’को ‘टयाग’लगाउन समाज व्यवस्थालाई हतार भैसक्यो।
पोखरा जाँदा भेटिएका मित्रलाई म कसरी सम्झाउँ कि मैले वर्णन गरेको यो जोडी एकआपसमा विछोडिनु परेकोमा दुःखी छैन बरू उनीहरु दुबैजना एकअर्कासँग बस्न असहज भएर सहज जीवनका लागि छुटिँदै थिए। मात्र दुबैको तनावको बिन्दु भोलि समाजले आफूहरूलाई हेर्ने फरक नजरमा थियो। आफन्त र समाजले बारम्बार सोध्ने प्रश्नको सामना कसरी गर्ने भन्नेमा थियो। विवाह बन्धनमा बाँध्न हर प्रयास गराउने लमीहरू, विवाहको मण्डपमा विवाहको कर्मकाण्डीय विधि गराउने पण्डितहरू अनि उनीहरू एकबाट दुई हुन लागेको उपलक्ष्यमा सहभागी हुन आउने आफन्त नै भोलिदेखि प्रश्न गर्नेहरुको पहिलो पंक्तिमा उभिने निश्चित थियो।
अचम्म छ, सधैँ रडाको गरेर बस्ने जोडीलाई ‘मिलेर बस’ भनेर उपदेश दिने समाज समझदारीमा छुट्टिने जोडीलाईचाहिँ नानाभाँती प्रश्न सोधेर हैरान पार्छ।
मैले नबुझेको एउटै कुरो एक जोडी केटाकेटी खुसीले विवाह बन्धनमा बाँधिन्छन्, तब समाज औधी खुसी हुन्छ, आफन्तहरू भोजभतेर खाएर नाचगान नै गर्छन्, अनि त्यही जोडीले अब हामी सँगै बस्न नसक्ने भयौं, हामी छुट्टिएरै बढी खुसी हुन्छौं भन्छ, किन दुनियाँलाई त्यो अपाच्य हुन्छ? मेरो चुरो प्रश्न नै यही हो। मलाई प्रश्न गर्न मन लाग्छ- समाजले विवाहित जोडीबाट चाहेको के हो? के कुकुर–बिराला जसरी सधैँ घरमा रडाको मच्चाएर, झैझगडा गरेर, आरोप प्रत्यारोप गरेर अनि कुटाकुट र भुतलाभुतल गरेरै भए पनि रूँदै रूँदै एउटै विच्छ्यौनामा सुत्नू? या जतिन्जेल मन मिल्यो, कुरा मिल्यो, भावना मिल्यो वा भान्छामा नुन मिल्यो, त्यतिन्जेलसम्मको मृदुल यात्रा मात्र ठिक?
हाम्रो समाजमा अहिले पनि एकचोटी देखेकै भरमा बिहे हुन्छ, बिहे गराइन्छ। ‘पण्डित बा’ले ‘लौ मिल्यो’ भनेछि बिहेको लगनको साइत जुर्छ। तर त्यही अनुपातमा महिनौं र वर्षौ झगडा, मनोमानिल्य र डिप्रेसन हुँदा समेत ‘घर जोगाउन’ सँगै बसिरहनु पर्छ। मक्किसकेको सम्बन्धलाई किन समाजले के भन्ला भन्ने त्रासमा टेकाएर राख्नु? यो बन्धन फुकाउन कोही चाहन्छन् भने अरूहरूलाई समस्या किन?
मानिस र युग बदलिन्छन्, हाम्रै आँखै अगाडि जुग बदलिएको हामीले देख्यौं र भोग्यौं। यो परिवर्तन र अकल्पनीय प्रविधिको युगमा सात जुनी होइन, एक जुनिमात्र पनि कुनै दम्पत्ती मिलेर बसे धन्य हुनेछ। पूर्वीय समाजको ‘सात जुनी’ सम्मको सम्बन्धको सांकेतिक र दार्शनिक पक्ष अवश्य पनि गम्भीर र महान छ तर घृणा, पीडा, घात, लात र बेइमानी सहेर लोग्ने मान्छे होस् या स्वास्नी मान्छे, किन कोहीसँग टाँसिएर बसोस्? यो स्वतन्त्रता र आत्मसम्मानको युग हो। आत्मसम्मानको खातिर कोही बिहे भन्ने संस्थामा च्यापिन चाहँदैन भने उसलाई सजिलो बाटो देखाउन कन्जुस्याँइ किन?