बाइस हजार थान गरगहना राखिएको वसन्तपुर गद्दी बैठकमुन्तिरको ढुकुटी जोखिममा छ। गृह मन्त्रालयअन्तर्गत समारोह प्रबन्ध फाँट प्रमुख मणिराम पौडेलका अनुसार भूकम्पले गद्दी बैठक भत्काएर तहसनहस पारिसक्दा पनि यसै बैठकमुन्तिर रहेको ढुकुटीलाई कसैले चासो दिएन। यो खबर हामीले आजको गोरखापत्रबाट लिएका हौ।
ढुकुटीमा सुन, हीरा, जवाहरात, देवी देवताका आभूषण, प्रशस्त असर्फी छन्। प्रमुख पौडेलले भने, ‘ढुकुटीमा रहेका अमूल्य गरगहनाको संरक्षणार्थ पनि गद्दी बैठकको पुनःनिर्माण जतिसक्यो छिटो हुन जरुरी छ। गद्दी बैठकमुन्तिरको सामान्य छिँडीमा थन्क्याइएका यी गरगहना कतै भग्नावशेषमा नपुरिऊन् भन्ने पिरलो छ ।’
गुठी संस्थान केन्द्रीय लगत कार्यालय प्रमुख राजेन्द्र दाहालका अनुसार ढुकुटीको साँचो केन्द्रीय लगत कार्यालयमै छ तर ढुकुटीमा लगत कार्यालय एक्लैको पहुँच छैन। २०६८ सालमा सेतो मच्छिन्द्रनाथको गहना झिक्ने राख्ने क्रममा ढुकुटी खोलिएयता ढुकुटी सामुन्ने कोही पुगेका छैनन्। उनका अनुसार सरकारका विभिन्न निकायको रोहवर नभई ढुकुटीमा केही गर्न सकिन्न। उति बेला ढुकुटी राम्रै हालतमा पाइएको हो, भूकम्पपछि के अवस्था छ, थाहा छैन, दाहालले भने।
उनले लगत कार्यालय नै भत्किएर कर्मचारी पुरिएलान् भन्ने पीर त कसैले लिएन ढुकुटीतिर कसले ध्यान देला भन्दै जोड दिए, ‘ढुकुटीभन्दा लगत कार्यालय रहेको भद्रकालीको भवन पुनःनिर्माण हुनुपर्छ । जोखिम ढुकुटीको हैन, भत्कन लागेको भवनमा काम गरिरहेका कर्मचारीको छ । ’
ढुकुटीमा मानदेवदेखि त्रिभुवनकालीन असर्फी, मणिमाणिक्य, सुनका घण्ट, शङ्ख मुरली, सुनैका देवताका मूर्ति, सुनका पादुका लगायत प्रशस्त सुन तथा हीराका हार रहेको र ती हारलाई २०४७ सालमा रुजु गरिएको अभिलेख छ।
समारोह प्रबन्ध फाँट प्रमुख पौडेलका अनुसार ढुकुटी र आसपासका भग्नावशेष हेर्दा अत्यासलाग्दो अवस्था छ। फाँटमा रहेका सयौँ गैँडाका खाग र खुर भने तत्कालीन फाँट प्रमुख भगवानप्रसाद ढुङ्गानाको कार्यकालमा गृह मन्त्रालयलाई बुझाइएको छ। ढुकुटी भने यसै अलपत्र छ ।