दाङवाङ–६, कोलबोटमा मोटरबाटो खन्ने जेसिभी डोजर मेसिन पल्टिँदा तीनजनाको घटनास्थलमा नै मृत्यु भएको छ।
गाउँमा मोटरबाटो निर्माण सम्पन्न गरी फर्कने क्रममा आज बिहान उकालोमा डोजरको ‘ब्रेक फेल’ हुँदा दुर्घटना भएको स्थानीयवासी हरि मगरले जानकारी दिए।
दुर्घटनामा परी स्थनीयवासी डोजरका सहचालक करिब १७ वर्षीय दीपक गाहामगर, २० वर्षीय शेषकान्त आचार्य र १३ वर्षीय ज्ञानेन्द्रबहादुर गाहामगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायब उपरीक्षक रञ्जितसिँह राठोरले जानकारी दिए।
सोही घटनामा परी नौजना घाइते भएको स्थानीय तथा युवा स्वरोजगार कार्यक्रम प्यूठानका संयोजक अमर रेश्मीमगरले जानकारी दिए। घाइतेको अमराईमा सामान्य उपचारपछि ६ जनालाई थप उपचारका लागि भैरहवा पठाइएको छ ।
यसैगरी, काठ ढुवानी गर्नका लागि लामाचौरबाट भिङ्ग्री जाँदै गरेको रा १ त १३२२ नंको ट्याक्टर गोठिवाङ–४ का कागपाती खोलामा हिजो साँझ दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । सहचालक तथा स्थानीयवासी २२ वर्षीय मुक्तबहादुर बुढाथोकीको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । रासस