राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्राध्यापक डा. गोविन्दराज पोखरेलले एकीकृत बस्ती पुननिर्माणमा देखिएका नीतिगत समस्यालाई तत्काल समाधान गरिने बताएका छन्।
सामुदायिक पुनर्निर्माण पर्यटन प्रर्वर्धन परियोजनाले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर ८ गिरानचौरमा शुरू गर्न लागेको एकीकृत नमुना बस्ती निर्माणको बुधबार शिलान्यास गर्दै प्राधिकरणका सिइओ पोखरेलले सामुदायिक एकीकृत बस्ती बनाउने संकल्पलाई पुरा गर्न सरकारले कुनै कसर बाँकी नराख्ने बताएका हुन्।
गाँउ बस्तीमा बस्ने र सिंहदरबारमा बस्नेको सहकार्यमै एकीकृत बस्ती निर्माणको अभियानलाई सफल पार्नुपर्ने भन्दै पोखरेलले प्रक्रियागत समस्यालाई प्राधिकरणले जतिसक्दो छिटो सम्वोधन गर्ने उल्लेख गरे।
एकीकृत बस्तीका लागि आवश्यक पर्ने पानी, बिजुली, स्वास्थ्य सेवा शिक्षा लगायतका सुविधालाईसमेत सरकारले उपलव्ध गराउने विषयमा गृहकार्य गरिरहेको पोखरेलले बताए। एकीकृत बस्ती मात्र निर्माण गरेर पुग्दैन, पोखरेलले भने, ‘स्थानीयको जिविकोपार्जनलाई पनि सरकारले ध्यान दिनुपर्छ त्यसका लागि सामाजिक, आर्थिक र भौतिक पुननिर्माणमा विशेष जोड दिन जरुरी छ।
कार्यक्रममा पोखरेलले गिरानचौरमा शिलान्यास गरेको एकीकृत बस्ती निर्माणका लागि आफ्नो एक साताको पारिश्रमिक समेत उपलव्ध गराउने घोषणा गरे। पोखरेलले ग्रामीण क्षेत्रमा घर निर्माणका लागि दक्ष प्राविधिकको अभाव भएकाले प्राधिकरणले सुरक्षा निकायलाई तालिम दिएर गाँउमा पठाउने तयारी स्वरुप दुई सय जना नेपाली सेनाका कालीगढलाई काठमाडौंमा प्रशिक्षक प्रशिक्षण तालिम दिन शुरू गरिएको बताए।
उनले केन्द्रबाट खटिएका इन्जिनियरहरुले ग्रामीण क्षेत्रमा पर्याप्त काम गर्न नसकेको गुनासो आएकाले सम्बन्धित नगरपालिकालाई नै इन्जिनियरको दरबन्दी उपलव्ध गराउने गरि आवश्यक निर्णय गरिने जानकारी दिए।
भूकम्पपछि पुननिर्माणका लागि सरकारले उपलब्ध गराएको पहिलो किस्ता बापतको ५० हजार रुपैयाँमा २० हजार थप गरेर गिरानचौरका समुदायले नै बस्ती निर्माण प्रक्रिया शुरू गरेका हुन्। एकीकृत बस्तीमा एक सय ५० वटा घर निर्माण हुनेछ । ६ कोठा भएको डेढ तले घर अपांगमैत्री बनाइने योजना छ।
सो एकीकृत बस्ती यसअघि कलाकारद्धय धुर्मुस–सुन्तली फाउण्डेसनको पहलमा तयार भएको गिरानचौर एकीकृत बस्ती नजिकै रहेको छ।