काठमाडौंको न्यू रोड टिम (एनआरटी)लाई हराउँदै मनाङ मर्स्याङ्दी क्लब झापाको बिर्तामोडमा जारी दोस्रो संस्करणको रमपम झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । डोमालाल राजवंशी रङ्गशाला बिर्ताबजारमा जारी खेलमा मनाङले एनआरटीलाई ४–० को भारी गोल अन्तरले हराउँदै प्रतियोगिताको अन्तिम चारको यात्रा तय गरको हो।
मनाङले अब सेमिफाईनलको भेटमा शनिबार विभागीय त्रिभुवन आर्मीको सामाना गर्ने छ। नेपाल पुलिस र एपिएफ पहिलो चरणबाटै घर फर्केपछि तीन मध्येको त्रिभुवन आर्मी सेमिफाईनलमा पुगेको थियो। आर्मीले यसअघि रुपन्देही ११ लाई २-० को गोल अन्तरले हराउँदै सेमिफाईनलको यात्रा तय गरेको थियो ।
६ जना राष्ट्रिय खेलाडीसहित मैदान उत्रिएको मनाङले सुरुवातदेखि नै खेलमा आफ्नो पकड जमायो। मनाङले खेलको २५ औँ मिनेटमा गोलको खाता खोल्यो । विदेशी खेलाडी ओलावालेको पासमा निराजन मल्लले गोल गर्दै मनाङलाई १–० को अग्रता दिलाए ।
त्यसको २ मिनेटलगत्तै अर्थात खेलको २७औँ मिनेटमा मनाङका लागि दोस्रो गोल सुशील लामाले गरे । उनले ओलावालेकै पासमा गोल गर्दै अग्रता दोब्बर पारेका हुन्। ३४औँ मिनेटमा निराजन मल्लले व्यक्तिगत दोस्रो गोल गर्दै पहिलो हाफमा मनाङको अग्रता ३–० पारे। सुशील लामाले डी एरियाभित्र मिलाइदिएको पास ओलावालेले छोडे पनि निराजनले आकर्षक ढङ्गले जाली चुमाए ।
दोस्रो हाफमा पनि मनाङको गोल गर्ने क्रम रोकिएन । खेलको ५९औँ मिनेटमा ओलावालेले गोल गर्दै ४–० को जीत सुनिश्चित गरे । विशाल राईको पासमा ओलावालेले शानदार गोल गरेका हुन् ।
बिहीबारको खेलको म्यान अफ द म्याच मनाङका खेलाडी रोहित चन्द भए।
प्रतियोगिताअन्तर्गत शुक्रबारबाट सेमिफाइनलका खेल हुदैछन । शुक्रबारको पहिलो सेमिफाइनल खेलमा आयोजक झापा ११ र हिमालयन शेर्पा क्लब काठमाडौँबीच भिडन्त हुने आयोजकले बताएको छ।
यसअघिको खेलमा झापा ११ ले सुदूरपश्चिमलाई ४-० को फराकिलो गोल अन्तरले हराउँद सेमिफाईनलको यात्रा तय गरेको थियो।