राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षा क्षेत्रको विकासका लागि राज्यले लगानी वृद्धि गर्नुपर्ने बताएकी छन्। राष्ट्रिय विकासको प्रमुख आधार शिक्षा भएको भन्दै उनले मुलुकको दिगो विकाशका लागि शिक्षामा लगानी वृद्धि गर्न आवश्यक रहेको बताईन् ।
रूपन्देहीको रुद्रपुर ७ स्थित हरैया माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको सनिवार उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले व्यवहारिक र जीवन उपयोगी शिक्षामा राज्यले लगानी बढाउन आवश्यक भएको बताईन् । ‘सरकारले कूल बजेटको जम्मा ४.५ प्रतिशत रकम मात्र शिक्षा क्षेत्रमा बिनियोजन गरेको छ। सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि शिक्षा क्षेत्रमा लगानी बढाउनुपर्छ,’ उनले भनिन्, ‘देशका अधिकांश विद्यार्थीहरुले अध्ययन गर्ने सामुदायिक विद्यालय हुन् यिनीहरूको स्तरउन्नति गरी रोजगारमूलक शिक्षामा प्रदान गर्न आवश्यक छ।’
राष्ट्रपति भण्डारीले रुपन्देहीका ग्रामिण बस्तीमा अझै पनि बाल विबाह र महिला हिंसाका घटना बढीरहेको उल्लेख गर्दै त्यसको अन्त्य हुनुपर्नेमा जोड दिईन् ।
उनले लुम्बिनी गुरूयोजना छिट्टो पूरा गर्न आवश्यक रहेको भन्दै लुम्बिनी मार्फत देशको विकास सम्भव रहेको बताईन्। ‘लुम्बिनी विश्व शान्तिको मुहान हो’, राष्ट्रपतिले भनीन्, ‘यसको प्रचार–प्रसार गरी विश्वका पर्यटकहरूलाई लुम्बिनीको भ्रमण गराउनुपर्छ । त्यसपछि मुलुकमा पर्यटन विकास हुन्छ। त्यसको लागि छिट्टो लुम्बिनी गुरूयोजना, निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल, बुद्ध सर्किटको काम सम्पन्न गर्न आश्वयक छ ।’
राष्ट्रपतिले भण्डारीले मुलुकको आर्थिक विकासलाई द्रूत रुपमा अघि बढाउनुपर्ने समेत आवश्यक रहेको औंल्याईन् । रुपन्देही औद्योगिक क्षेत्रको रूपमा विकास भइसकेको उल्लेख गर्दै उनले अझै आर्थिक विकासका लागि पूर्वाधार विकासमा ध्यान दिन आग्रह गरिन्।
उनले संविधान जारी भएसँगै संक्रमणकाल अन्त्य भए पनि प्राप्त राजनीतिक उपलब्धीलाई संस्थागत गर्न आर्थिक विकासमा केन्द्रित हुनुपर्नेमा जोड दिईन्।