सन् २०१६ को युथ–१९ विश्वकपमा न्युजिल्यान्डविरूद्ध ५७ रनको अर्धसतकीय इनिङ खेले पनि ऋषभ पन्त त्यति खुसी थिएनन्।
कारण– उनी जुन ब्याटिङ लागि चिनिन्थे। त्यो इनिङ उनको परिचय विपरित थियो। उनले ८३ बल खेल्ने क्रममा अर्धसतक बनाएका थिए। यसअघि आयरल्यान्डविरूद्ध खेलमा पनि उनले खासै ब्याटिङ गर्न सकेका थिएनन्। त्यो खेलमा पनि उनी २२ बलमा ७ रन बनाउँदै आउट भए।
बंगलादेशमा आयोजना भएको युथ–१९ विश्वकपका लागि ऋषभलाई भारतीय छनोट समितिले उनको बिस्फोटक खेल शैलीका कारण युथ टिममा स्थान दिएको थियो।
बंगलादेशमा युथ विश्वकप खेल्न आउनु पूर्व उनले कोलकातामा भएको त्रिदेशीय प्रतियोगितामा बंगलादेश र अफगानिस्ताविरूद्ध बिस्फोटक ब्याटिङ गरेका थिए। जसका कारण उनलाई युथ टिमको प्रारम्भिक ब्याट्सम्यान मात्र होइन, उपकप्तान नै नियुक्त गरिएको थियो।
तर, लिग चरणमा नेपालसँगै समूह ‘डी’ मा समावेश भारतका लागि ऋषभले अघिल्लो दुई खेलमा भारतीय छनोट समितिलाई निरास तुल्याए।
त्यसैले नेपालसँग हुने समूह चरणको अन्तिम खेल उनका लागि धेरै अर्थमा महत्वपूर्ण थियो।
फेब्रुअरीको पहिलो दिन भारतविरूद्ध ओपनिङ गर्ने क्रममा नेपालले ८ विकेटको क्षतिमा १ सय ६९ रन बनायो। प्रत्युत्तरमा इनिङको सुरुवात गर्न मीरपुरस्थित शेरेबंगला मैदानको क्रिजमा उत्रिदा ऋषभ स्वयमलाई थाहा थिएन, नेपालविरूद्धको त्यो एउटै ब्याटिङले उनको खेल जीवनलाई कुन उचाइँमा पुर्याउँछ?
उनले नेपालका प्रारम्भिक बलर कुशल भूर्तेलले अफस्टम्प बाहिर फ्याँकेको पहिलो फुलरलेन्थ बललाई हल्का ‘सफल’ गर्दै एउटा घुँडा भूइँमा टेकेर मिडविकेटतर्फ चौका प्रहार गरेका थिए।
उनले अर्को ओभरमा आरिफ शेखलाई डिप स्क्वायर लेगमा चौका मात्र होइन, डिप मिडविकेटमा दुई लामो छक्का प्रहार गरे। भूर्तेलको दोस्रो ओभरमा पुनः कभर माथिबाट र मिडअनमा दुई चौका प्रहार गरे।
अझ, प्रेम तामाङको चौथो र पाँचौ बलमा लगातार दुई चौका प्रहार गरेपछि ऋषभको अद्भूत ब्याटिङ क्षमताको अनुभव नेपाली टिमले मात्र होइन, सारा विश्वले गर्यो। किनभने ऋषभले यही खेलमा १८ बलमा अर्धसतक पुरा गर्दै युथ क्रिकेटमा नयाँ कीर्तिमान बनाए।
उनले वेष्ट इन्डिजका ट्रेभोर ग्रिफिथले १९ बलमा बनाएको अर्धसतकको कीर्तिमानलाई भंग गर्दै आफ्नो नाममा यो कीर्तिमान लेखाए।
अघिल्लो दुई खेलमा ५ विकेट लिएर सबैभन्दा सफल बनेका नेपाली बलर दीपेन्द्रसिंह ऐरीलाई उनले एउटै ओभरमा तीन छक्का र एक चौका प्रहार गरेका थिए।
भारतलाई १ सय ७९ बल खेल्न बाँकी रहँदै ७ विकेटले विजय दिलाउन उनले ५ छक्का र ९ चौकाको सहयोगले २४ बलमा ७८ रन बनाएका थिए।
नेपालविरूद्ध यही एउटा बिस्फोटक इनिङका कारण ऋषभको खेल जीवनले नयाँ मोड लियो।
उनलाई यही इनिङका कारण इण्डियन प्रिमियर लिग क्लब दिल्ली डेरडेभिल्सले गत वर्ष १ करोड ९० लाख भारतीय रुपैयाँमा खरिद गरेको थियो।
यिनै युवा ब्याट्सम्यानलाई यसै साता भारतले बेङ्लोरको चिन्नास्वामी रंगशालामा इङ्ल्यान्डविरूद्ध तेस्रो टी–२० खेलका लागि मैदानमा उतारेको थियो। इङ्ल्यान्डविरूद्ध छैटौं नम्बरमा ब्याटिङ गर्न उत्रिएका १९ वर्षीय ऋषभले ३ बलमा एक चौकाको सहयोगले अविजित ५ रन बनाउँदै खासै केही गर्न सकेनन्। तर, उनले इशान्त शर्माको कम उमेरमा टी–२० क्रिकेट खेल्ने भारतीय खेलाडीको कीर्तिमान आफ्नो नाममा सारे।
ऋषभ पश्चिमी नेपालको सीमासँग जोडिएको उत्तराखण्डको रुढकीमा जन्मिएका हुन्। उनका बुवा राजेन्द्र पन्तले पनि उत्तर प्रदेशका लागि क्रिकेट खेलिसकेका छन्।
ऋषभ अस्ट्रेलियाका बिस्फोटक ब्याट्सम्यान एडम गिलकृष्टका ‘फ्यान’ हुन्। उनी सानैदेखि गिलकृष्टको ब्याटिङ र विकेटकिपिङलाई पछ्याउथे। अहिले उनी गिलकृष्ट जस्तै दिल्लीका लागि रणजी ट्रफीमा ओपनिङ ब्याटिङ गर्छन् र विकेटकिपर पनि हुन्। गिलकृष्ट जस्तै बायाँ हातले ब्याटिङ गर्छन्। अझ, ब्याटिङ शैलीको कुरा गर्ने हो भने, उनी गिलकृष्टभन्दा बिस्फोटक देखिन्छन्। ब्याटिङको प्रारम्भमै ‘स्लगर’ को भूमिकामा देखिने कारण उनलाई क्रिकेट विश्लेषकहरू संयमित बन्न सुझाव दिन्छन्। तर, उनको जहिले एउटै उत्तर हुन्छ– ‘म आक्रामक खेल्दिनँ। मेरो स्वभाविक खेल नै यस्तै हो।’
रुढकीमा क्रिकेटको राम्रो एकेडेमी नभएका कारण ऋषभ १२ वर्षको उमेरमा नयाँ दिल्लीस्थित सोनेट क्रिकेट एकेडेमीमा क्रिकेट सिक्न आएका थिए।
सानो उमेरमै बललाई छिट्टै पढ्न सक्ने उनको अद्भूत कला देखेर सोनेट क्रिकेट एकेडेमीका प्रशिक्षक तारक सिन्हा चकित परेका थिए। शिखर धवन र आशिष नेहराजस्ता चर्चित खेलाडी उत्पादन गरिसकेका सिन्हा ऋषभको ‘पथ प्रदर्शक’ पनि हुन्।
उनलाइ नसोधि ऋषभ अहिले पनि सानोभन्दा सानो व्यवसायिक सम्झौतामा हस्ताक्षर गर्दैनन्। उनको प्रतिभालाई सानैमा चिनेका सिन्हाले दिल्लीमा स्टार खेलाडीको भीड भएका कारण सुरूमा राजस्थानबाट क्रिकेट खेल्न सुझाव दिएका थिए।
क्रिकेट सिक्न रुढकीबाट १ सय ८० किलोमिटरको बाटो छिचोल्दै दिल्ली पुगेका ऋषभ आफ्नो गुरुको सल्लाह बमोजिम क्रिकेट खेल्न पुनः दिल्लीबाट राजस्थान पुगेका थिए।
राजस्थानबाट करिब दुई वर्ष युथ–१४ र युथ–१६ क्रिकेट खेले पनि युथ–१९ को छनोटको बेला उनलाई अर्को राज्यको खेलाडीभन्दै टिमबाट बाहिर राखियो।
यसपछि उनी पुनः दिल्ली फर्किए। आफ्नो छोराको उज्वल भविष्यका लागि ऋषभको परिवार, खासमा उनको आमा घर छोडेर दिल्लीमै डेरा लिएर बस्न आएकी थिइन्।
स्थानीयस्तरमा उनको एकपछि अर्को बिस्फोटक इनिङका कारण दिल्लीले १८ वर्षको उमेरमै २०१५ मा ऋषभलाई रणजी टोलीमा स्थान दिएको थियो।
भारतको राष्ट्रिय क्रिकेट टोलीमा स्थान बनाउने बाटोको रुपमा रहेको रणजी ट्रफीमा उनले २२ अक्टुबरमा बंगालविरूद्ध ‘डेब्यू’को मौका पाएका थिए। यतिबेला उनले खासै ब्याटिङ गर्न सकेनन्। त्यसपछि उनी टिममा भित्र–बाहिर भइरखे।
तर, उनको प्रतिभाको कदर गर्दै दिल्लीले रणजी ट्रफीमा उनले ‘डेब्यु’ गरेको दुई महिनापछि विजय हजारे ट्रफीमा ठूलो मौका दियो। यतिबेला उनले गौतम गम्भीर र उन्मुक्त चन्दको स्थानमा शिखर धवनसँग ओपनिङ जोडीको भूमिका निर्वाह गरेका थिए। भारतका पूर्व कप्तान महेन्द्रसिंह धोनीको टिम झारखण्डविरूद्ध विजय हजारे ट्रफीमा ‘डेब्यु’ गर्ने क्रममा उनले ५० बलमा २४ रन बनाए। यो पनि उनको स्वभाविक खेल थिएन्। फाइनलमा सुरेश रैनाको टिम गुजराजविरूद्ध उनी भारतका पूर्व बलर आरपी सिंहको बलमा ‘गोल्डेन डक’ भए।
यस्तो अवस्थामा युथ–१९ विश्वकपले ऋषभको खेल जीवनमा ठूलो महत्व राख्थ्यो। किनभने भारतीय क्रिकेटका हालका स्टार खेलाडी विराट कोहली, युवराज सिंह, सुरेश रैनाहरू युथ विश्वकपबाटै उदाएका थिए।
नेपालविरूद्ध बिस्फोटक ब्याटिङ गरेपछि हालका भारतीय कप्तान विराट कोहलीले ऋषभको खेललाई नजिकबाट नियाल्दै आइरहेका थिए।
नेपाललाई पराजित गरेपछि भारत युथ–१९ विश्वकपमा समूह विजेताको रुपमा नकआउट चरणमा प्रवेश गरेको थियो। यसको ६ दिनपछि नामिबियाविरूद्ध उनी ब्याटिङ गरिरहँदा भारतमा इन्डियन प्रिमियर लिग (आइपिएल) का लागि उनको ‘बोली’ लागेको थियो। सुरूमा उनको लिलामी रकम १० लाख मात्र थियो। तर, जब लिलामी सुरु भयो, बेङ्लोरले एक्कासी उनका लागि १ करोड रुपैयाँ खर्चिने प्रस्ताव राख्यो। यसलाई उछिन्दै मुम्बईले डेढ करोडको प्रस्ताव अघि सार्यो। मुम्बई र बेङ्लोर उनलाई अनुबन्धित गर्न तछाडँ–मछाडँ गरिरहेको बेला देल्ली डेरडेभिल्सले एकै पल्ट १ करोड ९० लाखको प्रस्तावअघि सारेको थियो।
उनले नामिबियाविरूद्धको खेलमा ९६ बलमा १ सय ११ रन बनाए। उनकै बिस्फोटक इनिङका कारण भारतले खेल पनि जित्यो। खेल सकिएपछि एक रिपोर्टरले नामिबियाका कप्तानलाई सुनाएका थिए– ‘तिमीलाई थाहा छ? जसले तिमीहरूविरूद्ध सतक बनायो। उसलाई आइपिएलमा अहिले भर्खरै देल्ली डेरडेभिल्सले १ करोड ९० लाख रुपैयाँमा किन्यो।’
रिपोर्टरको त्यो कुरा सुनेपछि नामिबियाका कप्तान मुसुक्क हाँसेका थिए।
ऋषभले युथ–१९ क्रिकेटमा ४४ दशमलव ५० को औसतले ६ खेलमा २ सय ६७ रन बनाएका थिए। उनी यतिबेला भारतका लागि सर्वाधिक रन बनाउने दोस्रो ब्याट्सम्यान बनेका थिए।
युथ विश्वकप खेल्न जाँदा उनीसँग न पैसा थियो, न राम्रो भविष्यको ग्यारेन्टी नै। तर, नेपालसँगको त्यही एक खेलले उनी भारतीय टिममा स्थान नबनाउदै करोडपति भए। अझ, भारतीय टिममा समावेश हुने बाटो पनि खुल्यो।
युथ विश्वकप खेलेर फर्किएपछि ऋषभले रणजी ट्रफीमा अर्को धमाका गरे। उनले ८ महिनापछि मुम्बईविरूद्ध वान्खेडे रंगशालामा तेहरो सतक ठोके, त्यो पनि ९ छक्का ४२ चौकाको सहयोगले ९४ दशमलव ४७ को स्ट्राइक रेटमा ३ सय २६ बल खैल्दै ३ सय ८ रन बनाउने क्रममा।
यो कीर्तिमानसँगै उनी वासिम जाफर र अविनभ मुकुन्दपछि तेहोरो सतक बनाउने तेस्रो युवा क्रिकेटर बन्न पुगे। उनको यो इनिङपछि भारतीय क्रिकेटका हस्ति सुनिल गावस्करले नै ऋषभलाई भारतीय टिममा स्थान दिन अपील गरे।
उनले ८ नोभेम्बर २०१६ मा धोनीको रणजी टिम झारखण्डविरूद्ध खेलेको अर्को इनिङले नयाँ कीर्तिमान रच्यो। उनले ४८ बलमा सतक पुरा गर्दै २८ वर्षअघि तमिलनाडुका भिवी चन्द्रशेखरको नाममा घरेलु लिगमा छिटो सतक बनाउने कीर्तिमानलाई भंग गरे। चन्द्रशेखरले इरानी कपमा ५६ बलमा सतक बनाएका थिए।
ऋषभले सन् २०१६ को रणजीअन्तर्गत ५ खेलमा ४ सतक (एक तेहरो, ३ सतक) बनाइसकेका छन्। उनले यो सिजन रणजीमा १ सय ४४ को औसतले ७ सय ९९ रन बनाएका छन्। जसमा ४४ छक्का समावेश छ। यो आफैंमा अर्को कीर्तिमान हो।
भारतीय क्रिकेटका पूर्व ब्याट्सम्यान नवजोदसिंह सिद्धु ऋषभलाई भारतीय क्रिकेटको ‘हिरा’ मान्छन्। उनी ऋषभको आत्मविश्वासबाट कायल छन्। उनलाई अहिलेदेखि नै भविष्यको युवराज सिंह मान्नेहरूको पनि कमी छैनन्।
ऋषभसँग दुईवटा विशेषता छ। उनी बिस्फोटक त छदै छन्, ‘किताबी शट’ खेल्न पनि माहिर मानिन्छन्। महेन्द्रसिंह धोनीको सन्यासपछि उनको स्थान सम्हाल्ने खेलाडीको रूपमा पनि धेरैले ऋषभको भूमिकालाई हेरेका छन्।
गिलकृष्टले पनि उनलाई युवा प्रतिभाको रुपमा स्वीकार गरिसकेका छन्।
नेपाली प्रशिक्षक जगत टमाटा, जो २०१६ मा नेपाली युथ टिम लिएर विश्वकप खेल्न गएका थिए, भन्छन्–‘उसको प्रतिभा त्यतिबेलै बिस्फोट भइसकेको थियो। हाम्रा बलरले नराम्रो बल फ्याँकेका थिएनन्। तर, उसको खेल्ने शैली नै अरुभन्दा अलग थियो।’
टमाटा नेपालविरूद्धको इनिङपछि नै ऋषभ छिटो भारतीय टिममा आउने कुरामा आफू विश्वस्त रहेको बताउँछन्। जुन नेपालसँग बिस्फोटक ब्याटिङ गरेको ठ्याक्क एक वर्षमै पुरा भएको छ। ऋषभले गत वर्ष फेब्रअरी १ मा नेपालविरूद्ध बिस्फोटक अर्धसतक बनाएका थिए। यो साता उनी भारतीय टी–२० टिममा सहभागी हुँदा संयोगले फेब्रुअरी १ नै परेको थियो।