बढ्दो आधुनिकीकरण र खेतीपातीमा विषादी प्रयोगका कारण विस्थापित हुँदै गएपछि सहर तथा गाउँघरमा भँगेरा र चिबे चराको चिरबिर सुनिन छाडेको छ।
वासस्थान र आहारा अभावले गर्दा झन्डै एक दशकदेखि सहरबाट मात्र नभई गाउँघरबाट पनि ती चरा क्रमशः विस्थापित हुँदै जान थालेको हुन्। कतिपय चरा मानिसकै आसपास बस्न रुचाउने स्वभावका हुने गरेका छन्। चराले मानिसका शत्रु मात्र नभई मित्रको भूमिका समेत निर्वाह गर्दै आएका छन्। उनीहरुले अन्नलाई नोक्सान पुर्याउने किराफट्याङ्ग्रा खाएर अन्नबालीको नोक्सानीलाई रोकथाम समेत गर्दै आएका छन्।
“रातको प्रथम प्रहारमा भालेबास्नुअगावै चिबे चराको स्वर सुनिन्थ्यो”, सिन्धुपाल्चोक, चौतारा नगरपालिका–९ का एकेन्द्रबहादुर श्रेष्ठ बताउँछन् “अब त चिबेचरा देख्न नपाएको पनि लामो समय बितिसक्यो।”
गाउँघरमा कुखुराको चल्ला लाने चिललाई सानै भए पनि चिबेले लखेटेर हायलकायल पार्ने गरेको दृश्य अब त स्मृतिमा मात्र सीमित रहेको अर्का स्थानीयवासी जगतबहादुर श्रेष्ठ बताउँछन्।
“केही वर्ष अघिसम्म आँगनमा धान, कोदोको बिस्कुन सुकाउँदा भँगेराबाट जोगाउन गोठालो नै लाग्नुपथ्र्यो”– स्थानीयवासी वृद्धा टीकालक्ष्मी भन्छिन्– “अब त भँगेरा र चिबेचरा देखिनै छाड्यो। यस्तै हो भने पछिल्लो पुस्ताले ती चराको बारेमा थाहा पाउन पनि गाह्रै होला।”
भँगेरा बस्ने पुराना घरको बदला आधुनिक घर बन्न थालेपछि वासस्थानको अभाव हुन थालेको छ। खेतीपातीमा पनि बढी मात्रामा विषादी प्रयोग हुन थालेपछि किराफट्याङ्ग्रा नासिएर आहाराको अभावले पनि ती चरा विस्थापित हुन थालेको वरिष्ठ चराविद् डा हेमसागर बरालले बताए।
पुराना घरमा सारौँ र भँगेराले गुँड बनाउने कठप्वाल हुन्थ्यो। अब त सहर बजारमा मात्र नभई गाउँघरमा पनि पुराना घर प्रायः समाप्त भइसकेका छन्। सोही कारण भँगेरा र सारौँ मात्र नभई परेवा र मलेवा समेत गाउँघरबाट क्रमशः विस्थापित हुन थालेका छन्। “पहाडमा पनि परम्परा घरको बदला सिमेन्टेड आधुनिक घर निर्माण हुन थाले” डा बराल भन्छन्“किसानले धानकोदो लगाउनै छाडेपछि बिस्कुन सुकाएको देखिनै छाडेको छ।
बास र आहारा नपाएपछि ती चरा आफ्नो ठाउँबाट क्रमशः विस्थापित भएर अन्यत्र जान थालेका हुन्।
युवा कोही ठूला सहर र कोही विदेश पलायन हुन थालेपछि कामदारको अभावमा कतिपय जमिनमा धान कोदोको बदला फलफूल तथा तरकारीखेती हुन थालेका छन्। त्यस्ता बालीमा अत्यधिक विषादी प्रयोग हुन थालेपछि किराफट्याङ्ग्रा निर्मूल भई चराको आहाराको पनि अभाव भएको हो। “चिबे र भँगेरा लोप भएकै त भन्न मिल्दैन”, डा बराल भन्छन् “यसबारेमा अध्ययन अनुसन्धान हुनुपर्ने हो, तर हुन बाँकी नै छ।”
नेपाल पक्षी संरक्षण सङ्घ (बिसिएन) का चराविद् ज्योतेन्द्र ठकुरी पनि आहारा र वासस्थानकै अभावमा भँगेरा र चिबेचरा लोप हुन थालेको धारणा राख्छन्। अन्य चरा अहिलेसम्म मौजुद भएका ठाउँमा यी दुई जातका चरा लोप हुनाको कारण पत्ता नलागेको बताउँदै ठकुरीले भने “यसबारेमा काठमाडौँमा अध्ययन सुरु भइसकेको र नतिजा आउन बाँकी छ भने अन्य जिल्लामा अनुसन्धान सुरु भएको छैन।” रासस