इलाममा एक लाख ९३ हजार पाँचसय ४८ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय इलामले जनाएको छ। यसमा ९९ हजार दुईसय सात पुरुष र ९४ हजार तीनसय ३९ महिला र दुईजना तेस्रोलिङ्गी छन्।
कार्यालयले सञ्चालन गरेको एकमहिने मतदाता अद्यावधिक कार्यक्रममा दुईहजार नौसय ३९ जना मतदाता थपिएका हुन्। पुष पहिलो सातादेखि माघ दोस्रो सातासम्म सञ्चालन गरेको अद्यावधिक कार्यक्रममा एकहजार ६ सय ३८ पुरूष र एकहजार तीनसय एक महिला मतदाता थपिएको जिल्ला निर्वाचन अधिकृत प्रेमकुमार काफ्लेले जानकारी दिए।
स्थानीय निकायको निर्वाचनको चर्चा चल्न थालेपछि छुटेका मतदाताले धमाधम नामावली दर्ता गराउन थालेपछि मतदाताको सङ्ख्या वृद्धि भएको हो। कार्यालयले पछिल्लो चरणमा जिल्लाका ४३ गाविस र तीन नगरपालिकामा मतदाता अद्यावधिक कार्यक्रम सञ्चालन गरेको थियो।
जिल्ला प्रशासन कार्यालय इलाम, इलाका प्रशासन कार्यालय मङ्गलबारे र जिल्ला निर्वाचन कार्यालयबाट पनि नियमित नामावली दर्ता कार्य भइरहेको काफ्लेले जानकारी गराए।
वैदेशिक रोजगारीमा गएका नागरिक मतदाता नामावली दर्ता गराउन छुटेका छन्। सरकारले निर्वाचन मिति घोषणा गर्ने चर्चा चलिरहेका बेला जिल्ला निर्वाचन कार्यालयले कर्मचारी व्यवस्थापनसँगै निर्वाचनको तयारीमा जुटेको समेत उनले बताए। ।
“आयोगले लिखितरूपमा पत्राचार र निर्देशन दिएपछि द्रुतगतिमा काम अघि बढ्छ”, जिल्ला निर्वाचन अधिकृत काफ्लेले भने, “अहिले पनि तयारीमा लागिरहेका छौँ।” रासस