खुदुनाबारी १ कि ४१ वर्षिया लक्ष्मी बस्नेतको गाउँमा अहिलेसम्म पिउने पानीको सुविधा थिएन। बिहान डोकोमा गाग्री राखेर पानी चहार्नुपर्ने बाध्यता थियो। यो बाध्यता उनको मात्र होईन। गाँउका आमा, बुहारी र छोरीको दिन चर्या यसरी नै पानि मै बित्थ्यो।
बिहान २, दिउँसो ३ र साँझमा १ पटक गरेर दिनको ६ गाग्री पानी घरबाट ४० मिनेटको दूरी पुगेर ल्याउँथिन्। खानेपानीका लागि गाउँमा न ईनार न धारानै, कुनै स्थानीय पानीको मुहानसमेत नभएको यो गाउँका घर घरमा पानीको धारा जोडिएपछि सुकेडाँडाका धेरै आमा छोरी र बुहारीका पिठ्यूको दुखाई निको भएको छ।
०२८ सालदेखि बिस्तार भएको यो गाउँमा पानीको सुविधा त्यसै बेलादेखि थिएन। ‘पानीका लागि अनेक प्रयत्न गर्यौ तर सफल भएका थिएनौ,’ लक्ष्मीले सेतोपाटीसँग भनिन्, ‘गाउँनै काकाकुल जस्तो थियो अब लुगा धुन, भाँडा माँझ्न, पिउन पुग्ने गरी सुकेडाँडाको गाउँमा पानी आएको छ।’
झापा निर्वाचन क्षेत्र नम्बर ४ बाट चुनाव लड्ने उम्मेद्वारले पनि निर्वाचनताका खानेपानीको समस्यालाई मुख्य मुद्दा बनाउँथे। ‘घर, टोल, वडा र गाउँमा भाषण गर्ने नेताले चुनावपछि घर घरमा पानी पुर्याउँने आश्वासन दिन्थे। भोट माग्यो जित्यो गयो, अनि नाक मुख नदेखाउने सांसदले यो गाउँका लागि माखो मारेनन्,’ स्थानीय भन्छन्, ‘अब फेरि भोट माग्न आए भने भोट होइन मुखभरीको जवाफ दिउँला।’
‘यो क्षेत्रबाट अहिलेसम्म चन्द्रप्रकास मैनाली (सिपी) देवीप्रसाद ओझा, धर्मशिला चापागाईँ र प्रेमबहादुर गिरी निर्वाचित भएका छन्,’ स्थानीय मणिकुमार एकतेनले भने, ‘हाम्रो मतले उनीहरूले चुनाव जिते अहिले नाक मुख देखाउँदैनन्।’
मंगोल समुदायको वाहुल्यता भएको गाउँमा मुख्य गरेर ठूला राजनीतिक दलमा आस्था राख्ने धेरै छन्। स्थानीय एक अगुवाले भने, ‘क्षेत्रीय पार्टीमा लाग्ने पनि केहि घर छन् तर अधिकांश ठूला दल कांग्रेस, माओवादी र एमालेकै समर्थक गाउँमा छन्।’
स्थानीयले खुदुनावारी १ भएर बग्ने नेते खोलाको पानी प्रयोग गर्थे। पानीलाई सुद्धिकरण नै नगरी उपभोग गर्ने गरेको स्थानीयले बताए। उनीहरूले भने उक्त खोलामा कुवा खनेर पानी बोक्नु परेको थियो। नेते खोला मात्र होईन स्थानीयले पेरूङे खोलाको पानी पनि कपडाले छानेर धमिलै भए पनि प्रयोग गर्ने गरेका थिए।
लक्ष्मी बस्नेतका अनुसार गाउँका सबै महिला बिहान, दिउँसो र बेलुका नेते र पेरूङे खोलामा पानी लिन जाने गरेको थिए। कसैलाई २० मिनेट लाग्थ्यो भने कसैलाई १ घन्टै लाग्थ्यो।
गाउँमा खुदुनावारी गाविसले १५ वर्ष पहिले ईनार निर्माण गरिदिएको थियो। ‘गाविसले बनाइदिएको ईनारमा वर्षको ४ महिना मात्र पानी रसाउँथ्यो। आकासबाट पानी परेर पानी रसाउन थालेपछि ईनार भरिन्थ्यो,’ गाउँको नालिवेली बताउँदै बस्नेतले भनिन्, ‘कात्तिकदेखि असारसम्म कुवाकै पानी प्रयोग गर्नुपर्थ्यो।’
गाउँमा एउटा मात्र ईनार हुँदा दिनहुँ पानीका लागि झगडा हुने गरेको स्थानीयले बताए। ‘पानी भर्ने पालोकै विषयमा दिनुहँ झगडा हुन्थ्यो,’ स्थानिय एक महिलाले भनिन्, ‘अझै पनि गाउँमा केही परिवारको पानी बाराबारको स्थिति छ।’
अब पानीकै कारणले दिनहुँ गाउँमा हुने झगडा सधैका लागि एक दातृनिकायले बन्द गरिदिएको छ। ग्रामिण खानेपानी तथा सरसफाई कोष विकास समिति (फन्ड बोर्ड) ले खुदुनाबारी १ को खानेपानीको समस्याका बारेमा जानकारी पाएपछि पानीकै कारणले बिग्रिएको गाउँले बिचको सम्बन्ध सुध्रिन थालेको छ। सृजना खानेपानी तथा सरसफाई आयोजनाले यसै महिना गाउँमा खानेपानी पुर्याएको हो।
दातृनिकायले गाउँमै डिप बोरिङ गरेर पानी निकाल्ने योजना बुनेको थियो। तर , गाउँमा ५ ठाँउ डिप बोरिङ गर्दा पनि पानीको लेयर नभेटेपछि करिब १ किलो मिटर दुरीबाट दुईवटा ईनार खनेर एक सय मिटर उचाईको बस्तीमा पानि पुर्याएको हो।
सहयोगी संस्थाको रुपमा सो योजनामा काम गरिरहेको ग्रामिण जनविकास केन्द्रका को-अर्डिनेटर अर्जुन शाहीका अनुसार ४ डाय मिटरको ईनार ३० फिट गहिराईको छ। ईनार भित्रै समर्सीवल मोटर जडान गरेर १ किलोमिटरको दुरीमा रहेको रिजर्भ ट्यांकीमा पानी जम्मा गरेका छौ। प्रतिसेकेन्ड ८ लिटर पानी सो समर्सीलव मोटरले निकाल्ने गरेको उनले बताए।
गाउँमा अहिले २५ वटा सामुदायिक धारा जडान भएका छन्। १ सय ९१ घर परिवार रहेको सो गाउँका १ हजार ९ जनाले पानीको उपभोग गर्न थालेका छन्।
स्थानियले पानी बोक्न जाने समय यतिवेला करेसाबारीमा खर्चिन थालेका छन्। तरकारी बारी मात्र होईन पानी लिन जाने समय बच्न थालेपछि गाउँमा बाख्रा, कुखुरा र बंगुर पालन व्यवसाय शुरू हुन थालेको स्थानीय रामकुमारी मगरले बताईन्।
‘गाउँमा समूह गठन गरेर साताको एक दिन स्वेच्छिक बचत गर्न शुरू गरेका छौ,’ स्थानीय महिलाले भनिन्, ‘आवस्यक परेको वेला पैसा खोज्न अन्त जानु नपरोस भनेर यसको सुरूवात गरेका हौ।’ यो समूह संचालन गर्न फण्ड र्वोडले १० हजार रकम दिएको थियो।
४३ लाख ३१ हजार ९ सय ६४ रूपैयाँको लागतमा निर्माण सम्पन्न भएको योजनाका लागि फण्ड र्बोडबाट ३५ लाख ६२ हजार २ सय ५४ रुपैयाँ प्राप्त भएको निर्माण उपभोक्ता समितिका अध्यक्ष मकरध्वज एकतेनले बताए। बाँकी रकमको जोहो समुदायले गरेको थियो।