त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तीन वर्षअघि स्थापित अन्तर्राष्ट्रियस्तरको ‘हेल्थ डेस्क’ मर्मत गरिने भएको छ।
गतवर्षको भूकम्पका कारण क्षतिग्रस्त भएका उपकरणका साथै डेस्कलाई गुणस्तरीय र आकर्षक बनाउन विश्व स्वास्थ्य सङ्गठनको ३५ लाख रुपैयाँको सहयोगमा स्वास्थ्य मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले हेल्थ डेस्कको मर्मत गरी गुणस्तरीय बनाउन लागिएको हो।
अफ्रिकन देशमा इबोलको महामारी फैलिएपछि बाहिरी मुलुकबाट आएका पर्यटक तथा नेपाली यात्रुबाट रोगको सङ्क्रमण भित्रन सक्ने जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य जाँच गर्न सरकारले सो हेल्थ डेस्क स्थापना गरेको थियो ।
मुख्यतयाः रोगग्रस्त मुलुकबाट आएका यात्रीसँगै रोगको सङ्क्रमण देशभित्र भित्रनसक्ने हुनाले विमानस्थललै त्यसको जानकारी लिई सजकता अपनाउनु पनि हेल्थ डेस्कको उद्देश्य हो।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा भीम आर्चायले अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको हेल्थ डेस्क गुणस्तरीय र आकर्षक पनि हुनुपर्छ भनी पुनःनिर्माण गर्न लागिएको बताए। १५ दिनभित्र मर्मत कार्य सकिने बताइएको छ ।
निर्देशक आचार्यका अनुसार आगमन स्थलमा राखिएको थर्मल स्क्यानर क्यामरा जडान पनि गतवर्षको भूकम्पले काम नलाग्ने गरी बिग्रिएको छ । उक्त क्यामराको फोकस बाहिरबाट आएका यात्रुको निधारमा परी उसको शरीरको तापक्रम नाप्ने काम गर्छ । सोही तापक्रमको आधारमा बढी तापक्रम भएका व्यक्तिलाई हेल्थ डेस्कमा ल्याई परामर्श गरी थप जाँच गरी कुनै रोगको जोखिम भए नभएको पत्ता लगाउने गरिन्छ ।
अब बन्ने हेल्थ डेस्कको स्वरुप नै परिर्वतन हुने निर्देशक आर्चायको भनाइ छ । उनले उक्त हेल्थ डेस्क आर्कषक र स्तरीय मात्र नभई त्यहाँबाट दिइने सेवा गुणस्तरीय बनाउन परामर्श दिने, त्यसको तथ्याङ्क राख्न कम्प्युटरको पनि व्यवस्था हुने बताए।
उक्त डेस्कमा सिनियर अहेब र हेल्थ असिस्टेन्ट गरी पाँचजना कर्मचारी २४ सै घन्टै सेवामा खटाइएको छ । जनस्वास्थ्य कार्यालय काठमाडौँले पालैपालो कर्मचारी त्यहाँ परिचालन गर्दै आएको छ । तर निर्देशक आचार्य उक्त डेस्कका लागि छुट्टै दरबन्दी सिर्जना गरी सोही स्थानका लागि नै कर्मचारी राख्नुपर्ने आवश्यकता रहेको बताउँछन्।
यस्तै हेल्थ डेस्क सरकारले छिमेकी देशसँग जोडिएका छ । जिल्लामा सिमानामा पनि स्थापना गरेको छ । झापाको काँकडभित्ता चौकी, विराटनगरको रानीभन्सार, रसुवाको रसुवागडी नाका कञ्चनपुरको गड्डाचौकी, भैरहवामा बेलिया नाका, नेपालगन्जको जमुनाहा नाकामा हेल्थ डेस्क स्थापना गरिएको छ । ।
विमानस्थलमा थर्मल स्क्यानर क्यामराको माध्यमबाट बिरामी पत्ता लगाइने भए पनि सिमाका रहेका अन्य ६ हेल्थ डेस्कमा भने टाँसिएको सूचनाको आधारमा शङ्कास्पद बिरामी आफैं हेल्थ डेस्कको सम्पर्कमा आएर जाँच तथा परामर्श लिने गरेका छन् ।
उक्त डेस्क सञ्चालन गर्नका लागि सरकारले वर्षको तीन लाख रुपैयाँ बजेट प्रत्येक हेल्थ डेस्कलाई उपलब्ध गराउँदैँ आएको छ ।
सरकारले सात स्थानमा राखिएको हेल्थ डेस्कमा अहिलेसम्म १५ हजार ९८१ जनाले स्वास्थ्यबारे परामर्श लिएको महाशाखाले जानकारी दिएको छ ।
महाशाखाको तथ्याङ्क अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आर्थिक वर्ष २०७२/७३ मा वर्ष १३१ जना र आव २०७३/७४ मा ३२० बिरामीसँग परामर्श गरिएको थियो ।
काकडभिट्टामा रहेको स्वास्थ्य सहायता कक्षमा आर्थिक वर्ष २०७२/७३ मा वर्ष एक हजार आव २०७३/७४ मा तीन सय बिरामीले परामर्श लिएका थिए ।
त्यस्तैगरी भैरहवाको सुनौली नाकामा आव २०७२/७३ मा ४५० र २०७३/७४ मा ८४, नेपालगन्जको जमुनामा आव २०७२/७३ सबैभन्दा १३ हजार यो चालु आवमा तीन महेन्द्रनगरको गड्डाचौकीमा आव २०७२/सात सय ३ र अहिले दुई जनाले मात्र परामर्श लिएका छन् । रसुवागडी र विराटनगर रानी भन्सारको भने तथ्याङ्क नआएको महाशाखाले जनाएको छ । रासस