ऐन कार्यान्वयनको माग राखी स्वास्थ्यकर्मी आन्दोलनमा उत्रेपछि महोत्तरी लगायत देशभरि हात्तीपाइलेको औषधि खुवाउने तथा राष्ट्रिय पोलियो लगायत खोप कार्यक्रम प्रभावित छन्। आन्दोलनका कारण महोत्तरी जिल्लामा सयौं बालबालिका खोपबाट वञ्चित भएका छन्। आन्दोलनले ग्रामीण क्षेत्रका सर्वसाधारण स्वास्थ्य सेवाबाट वञ्चित भएका छन्।
स्वास्थ्यकर्मी सदरमुकाम जलेश्वरस्थित जिल्ला स्वास्थ्य तथा जनस्वास्थ्य कार्यालयमा धर्नामा बसेका छन्। जिल्ला अस्पताल, प्राथमिक, स्वास्थ्य केन्द्र तथा स्वास्थ्य चौकीमा सेवा ठप्प छ। औषधि अभावको मार खेप्दै आएका सर्वसाधारणले स्वास्थ्यकर्मीको आन्दोलनले सिटामोलसम्म पाउन नसकेको हो। स्वास्थ्यकर्मी स्वास्थ्य संस्थामा नबसेर आन्दोलनमा गएपछि गाउँमा पेट दुख्ने, ज्वरो आएका सामान्य बिरामी निजी अस्पताल तथा क्लिनिक धाउन बाध्य छन्।
धर्नाले जिल्ला स्वास्थ्य तथा जनस्वास्थ्य कार्यालयका कामसमेत प्रभावित भएका छन् । बालबालिकालाई लगाइने नियमित खोप, तथ्यांक संकलन, जिल्ला तथा केन्द्रबाट सञ्चालित तालिम, गोष्ठीलगायत कार्यक्रम हुन सकेका छैनन
खोप तथा पोलीयो थोपाबाट वञ्चित भएका दुधे बालबालिकाको स्वास्थ्यमा दीर्घकालीन असर पर्ने चिकित्सकहरु बताउँछन्। धर्नाका कारण १ लाख १० हजार बालबालिका खोप कार्यक्रमबाट बन्चित भएका छन्। धर्नाका कारण महोतरी जिल्ला अस्पताल जलेश्वर तथा बर्दिवास अस्पतालसहित ५ वटा प्राथमिक स्वास्थ्य केन्द्र, ६८ स्वास्थ्य चौकी, र जलेश्वरमा रहेको सहरी क्लिनिकमासमेत बालबालिकालाई दिइने खोप कार्यक्रम प्रभावित भएको हो।